• १५ वैशाख २०८१, शनिबार

महँगियो तरकारी

blog

काठमाडौँ, असार २६ गते  । “कमाइ तीन वर्षदेखि उस्तै छ, महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिररहँदा असन चोकमा भेटिनुभएकी पवित्रा थापाको अनुहार मलिन देखिन्थ्यो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, नुन मसला छँदै छ । दैनिक साढे पाँच सय रुपियाँ कमाउनेले एक छाकको एक सय रुपियाँको तरकारी किनेर कसरी खान सक्छ ?” उहाँले प्रश्न गर्नुभयो । थापाका श्रीमान् न्युरोडको बैङ्कमा सुरक्षा गार्डका रूपमा कार्यरत हुनुहुन्छ । 

थापाका श्रीमान्को मासिक तलब साढे १५ हजार रुपियाँ छ । हुन त उहाँका श्रीमान्को तलब सरकारले न्यूनतम पारिश्रमिक अनुसार छ तर यो तलबले अहिलेको महँगीमा आफूसहित चार जनाको परिवारलाई दाल र भात मात्रै खान पनि गाह्रो छ । महँगो तरकारी कसरी खाने ? 

“तरकारी महँगो भए पनि राम्रो पाए त हुन्थ्यो नि, किनिहाल्ने खालको तरकारी नै देखिँदैन । हेर्दै बासी जस्तो छ,” असन चोकमै तरकारीको भाउ बुझ्दै गरेका विनोद पोखरेलले थप्नुभयो । थोरै र सीमित आय भएकालाई मात्रै होइन, मध्यम वर्गमा पनि राम्रै आय भएकालाई समेत भान्छा चलाउन गाह्रो भएको अनुभव उहाँले सुनाउनुभयो । 

तरकारीको महँगीले उपभोक्तालाई मात्रै असर गरेको छैन, व्यापारीसमेत व्यापार नभएर चिन्तित छन् । कालीमाटीको खुद्रा बजारमा व्यापार गर्ने काशीनाथ कार्की महँगो तिरेर ल्याएको तरकारी देख्दा पनि राम्रो र आकर्षक नभएकाले बिक्री नभएर चिन्तित हुनुहुन्छ ।

उहाँले भन्नुभयो, “महँगो तिरेर ल्याएको तरकारी उपभोक्ताले भाउ भन्नेबित्तिकै नाक खुम्चाउँछन् । सधैँ एक केजी किन्नेले आधा केजी र पाउको कुरा गर्छन् । बर्खाको तरकारी एक दिनमै कटेन भनेर भोलिपल्ट सबै फ्याँक्नु पर्छ । तरकारी बिक्री हुँदैन, तरकारी मात्रै खाएर भएन, दाल, चामल, तेल पनि किनेरै खानु पर्छ । व्यापारमै नोक्सान भएपछि कसरी बाँच्ने ?” 

कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बर्खा सुरु भएसँगै तरकारीको भाउमा दिनदिनै उतारचढाव आइरहेको बताउनुभयो । 

पछिल्लो साता तरकारी आयात घटेकाले मूल्य बढेको मात्रै होइन, राम्रो तरकारी पाउनै गाह्रो भएको अनुभव उहाँको छ ।

थोक व्यापारीसमेत रहेका आचार्यले थप्नुभयो, “बर्खामा तरकारी छिट्टै कुहिने, एक दिन बासी रह्यो भने आधा बढी फ्याँक्नुपर्ने र ढुवानी भाडा पनि महँगो भएका कारण सस्तो हुन नसकेको हो । बर्खाका बेला तरकारीमा विगतका वर्षहरूमा पनि उतारचढाव आउने गरेको थियो ।” 

आचार्यका अनुसार पछिल्लो पटक आलु, प्याज, गोलभेँडाको भाउ उच्चदरमा वृद्धि भए पनि मौसमी तरकारीसमेत बढिरहेको छ । एक सातादेखि बजारमा बन्दाबाहेक अन्य मौसमी तरकारीसमेत थोरै आएको भन्दै उहाँले भन्नुभयो, “तराईको उत्पादन लगभग सकिएको र पहाडी क्षेत्रको उत्पादनले मात्रै बजारको माग धान्न सकेको छैन, आउनेबित्तिकै तरकारी सकिन्छ ।” 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार बजारमा छ सय मेट्रिक टनको हाराहारीमा तरकारी भित्रिएको छ । अहिले बन्दा र मुलाबाहेक अधिकांश तरकारीको भाउ थोकमै प्रतिकेजीको एक सय रुपियाँभन्दा बढी छ । मौसमी तरकारी बोडी, सिमी, घिरौँला, लौकालगायतको भाउ पनि उच्च छ । 

सामान्य अवस्थामा बजारमा एक हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने गरेको समितिले जनाएको छ । समितिका निर्देशक विनय श्रेष्ठले बर्खामा तरकारीको भाउ बढ्नु स्वाभाविक भएको स्वीकार गर्नुभयो । 

बजारमा भित्रिने अधिकांश तरकारी काठमाडौँ बाहिरबाट ल्याउनुपर्ने र ठाउँ ठाउँमा वर्षा र रोपाइँ सुरु भएकाले पनि बजारमा तरकारी कम आएको र बजार आई नपुग्दा कुहिने, सड्नेलगायतका कारण पनि तरकारीको भाउ तुलनात्मक रूपमा  महँगो भएको उहाँको भनाइ छ । 

समितिका अनुसार यो बेलामा कालीमाटी बजारमा अधिकांश तरकारी उपत्यकासहित पहाडी जिल्ला धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, दोलखा, रामेछापलगायतका विभिन्न ठाउँबाट तरकारी आउँछ् ।