• ११ मंसिर २०८१, मङ्गलबार

‘मौद्रिक नीति खुकुलो हुनासाथ अर्थतन्त्र सहज’

blog

काठमाडौँ, असार २५ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउनासाथ अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताउनुभएको छ । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक कार्यक्रममा उहाँले मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजाँदा पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने बताउनुभएको हो । 

राष्ट्र बैङ्कले स्वायत्त रूपमा काम गरोस् र समग्र अर्थतन्त्रको परिवेश के छ र मौद्रिक नीतिले यसमा कसरी योगदान पु-याउन सक्छ भन्ने कुरालाई मध्यनजर राखेर नीति आओस् भनेर नै राष्ट्र बैङ्कलाई एक तहको स्वायत्तता दिइएको पनि उहाँले बताउनुभयो । 

“यो कुरालाई हामीले स्पष्ट ढङ्गबाट राष्ट्र बैङ्कको नेतृत्वलाई भनेका छौँ । अब आउने मौद्रिक नीतिमा मार्जिनली पलेसी रेटमा सुधार गर्नुपर्ने आवश्यकता छ,” उहाँले भन्नुभयो । मौद्रिक नीतिका उपकरण समयसापेक्ष प्रयोग हुन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । 

राष्ट्र बैङ्कबाट आउने मौद्रिक नीतिका बारेमा बेलाबखत सरकार र सरोकारवालाले प्रश्न उठाउने गरेको पनि मन्त्री डा. महतले बताउनुभयो । “मौद्रिक नीति र वित्त नीति समन्वयमा जानु पर्छ, त्यसको एउटै लक्ष्य हुनु पर्छ । मौद्रिक नीति एउटा बाटोमा, वित्त नीति अर्काे बाटोमा लियो भने यसले लक्षित उद्देश्य प्राप्त हुँदैन,” उहाँले भन्नुभयो ।

बैङ्कमा तरलता हुँदाहुँदै पनि ब्याजदरका कारण पुँजी प्रवाह हुन नसकेको र यसले लगानी प्रभावित भइरहेको पनि अर्थमन्त्रीको भनाइ थियो । “कति ब्याजमा ऋण प्राप्त हुन्छ भन्ने कुराले लगानीको लागत निर्धारण गरेको हुन्छ,” उहाँले भन्नुभयो, “ब्याजदरकै कारण ऋण लिनेले प्रतिफल प्राप्त नहुँदा ऋण तिर्न गाह्रो भइरहेको छ ।”

अहिले मौद्रिक नीति थोरै खुकुलो बनाएर जाँदा अर्थतन्त्र चलायमान गराउन मद्दत पुग्ने मन्त्री डा. महतको दाबी छ । उहाँका अनुसार चलायमान अर्थतन्त्रको सकारात्मक सङ्केत देखिन थालेको पनि छ । सामान्य समस्या आउनासाथ खत्तमै भयो भन्ने मानसिकताले पनि समस्या निम्त्याएको उहाँले बताउनुभयो । “वैदेशिक मुद्रा सञ्चिति कम हुन थाल्यो भनेर हामी आत्तियौँ, त्यो नै बहसको केन्द्रबिन्दु हुन्छ । सरकारमा र नीति निर्माणमा बसेकाहरू प्रभावित भएर निर्णयमा पुगिहाल्छन्,” उहाँले भन्नुभयो ।

यस्ता हल्लाले राजस्वलगायत कुरामा प्रभाव परेको र अर्कोतिर मौद्रिक नीति पनि कडा भएपछि अर्थतन्त्रमा त्यसको असर परेको उहाँले बताउनुभयो । “हाम्रो आन्तरिक निर्णयले पनि अर्थतन्त्रमा समस्या पारेको थियो,” उहाँले भन्नुभयो, “अब यसलाई सच्चाउनु पर्छ ।”

पछिल्लो समय विदेशी मुद्रा सञ्चिति राम्रो भएको र पर्यटन व्यवसाय पुरानो लयमा फर्किरहेको पनि उहाँले बताउनुभयो । विश्व बैङ्कले पनि ऋण प्रवाहमा चासो देखाइरहेको र यस्तो परिवेशमा मौद्रिक नीति खुकुलो हुनेबित्तिकै अर्थतन्त्र सहजतातर्फ अगाडि बढ्ने उहाँको भनाइ थियो । यस पटक वित्तीय नीति अन्तर्गत बजेटरी नीतिमा धेरै सुधार गरेकोे अर्थमन्त्री डा. महतको भनाइ थियो । 

“सिस्टम अस्तव्यस्त छ, स्रोत सुनिश्चित नभएका र पछि कतैबाट आइहाल्ला भन्ने नाममा बजेट विनियोजन गरिएको छैन । रकमान्तर ठुलो समस्याका रूपमा देखा परेको छ । 

भइसकेका कुरालाई सुधार गर्नेतिर होइन, अबका दिनमा कडाइका साथ रोकिने छ,” उहाँले भन्नुभयो । त्यस्तै उहाँले मूल्य वृद्धिलाई ध्यानमा राखेर मौद्रिक नीति आउने विश्वास व्यक्त गर्नुभयो ।