• १४ पुस २०८१, आइतबार

एकीकृत सेवा केन्द्र माग गर्दै आन्दोलन

blog

आइतबार रामगोपालपुरको मुख्य चोकमा आन्दोलनस्वरुप धर्ना दिनुहुँदै नगरप्रमुखसहित स्थानीय बासिन्दा ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, असार २४ गते । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा एकीकृत सेवा केन्द्र हुनुपर्ने माग राख्दै नगरवासीहरु आन्दोलित भएका छन् । स्थानीयवासीहरु रामगोपालपुरमा नापी र मालपोत सेवा कार्यालय हुनुपर्ने माग राख्दै बजार र सडक बन्द गराएका छन् । 

आईतबार बिहान ९ बजेदेखि नै मुख्य चोकमा धर्ना दिँदै स्थानीयवासीहरुले चक्काजाम र बजार बन्द गरेका हुन् । चक्काजामका कारण जलेश्वरबाट औरही हुँदै बर्दिबास जाने यातायात पूर्णतः बन्द छ भने रामगोपालपुर बजार पनि बन्द भएको छ । 

रामगोपालपुर नगरपालिकाका नगरप्रमुख रामदुलार साहले चार सूत्रीय माग राख्दै नगरवासी आन्दोलित भएको बताउनुभयो । उहाँले मिति २०७८-१२-२१ गतेको मन्त्रिपरिषद्को निर्णय खारेज गर, रामगोपालपुरमा मालपोत र नापी कार्यालयको शाखा कार्यालय कायम गर, रामगोपालपुरको वडानं.१,२ र ९ को नागरिकता इलाका प्रशासन कार्यालय रामगोपालपुरमै जारी गर, वडा नं.१,२ र ९ को विद्युत बिल रामगोपालपुरमै जारी गर माग राख्दै आन्दोलित हुनुपरेको बताउनुभयो ।

नगरप्रमुख साहले जिल्ला समन्वय समितिले रामगोपालपुरमा नै एकीकृत सेवा कायम गर्ने निर्णय गरे पनि २०७८-१२-२१ म मन्त्रिपरिषद्ले निर्णय गरी गौशालामा सेवा केन्द्र स्थापना गरेको बताउनुहुँदै ती निर्णय खारेज गरेर रामगोपालपुरमै सेवा केन्द्र स्थापना आफूहरुको मुख्य माग रहेको बताउनुभयो । उहाँले नगरवासीहरुलाई नागरिकता र विद्युत बिल बुझाउन गौशाला र सदरमुकाम जलेश्वर जानुपर्ने बाध्यता रहेको बताउनुहुँदै यस्तो सौतेला व्यवहारविरुद्ध आन्दोलन गरेको जानकारी दिनुभयो ।

रामगोपालपुर नगरपालिकामा नै इलाका प्रशासन कार्यालय रहे पनि वडा नं.१ बसविट्टी, वडा नं. २ मोहनपुर र टेङ्गरका बासिन्दालाई गौशाला तथा वडा नं. ९ खोपीका बासिन्दालाई नागरिकता बनाउन सदरमुकाम जलेश्वर जानुपर्ने बाध्यता रहेको बताउनुहुँदै यो निर्णय एकदमै अव्यावहारिक रहेको प्रतिक्रिया नगरप्रमुख साहले दिनुभयो । उहाँले असार ३१ गतेसम्म तीन घण्टा बजार र यातायात बन्द गराउने र त्यसपछि पनि माग सम्बोधन नभए अनिश्चितकालीन आम हडताल गर्ने आन्दोलनको स्वरुप रहेको जानकारी दिनुभयो ।