देवराम प्रसाद यादव
सप्तरी, असार २४ गते । पूर्व-पश्चिम लोकमार्गको कञ्चनपुर-कमला सडक खण्डमा आवश्यक बजेट उपलब्ध नहुँदा सडक र पुल निर्माणको कामले गति लिन सकेको छैन । नेपाल सरकारको रूपान्तरकारी गौरवको योजना अन्तर्गत पूर्व पश्चिम लाेकमार्गको पहिलो चरणमा सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन सडक विस्तारको काम भइरहेको छ।
उक्त लाेकमार्गको सहरी क्षेत्रमा भने ६ लेनको सडक निर्माण गरिने भएको छ । कञ्चनपुर–कमला सडक योजना, सिरहा, पूर्वी खण्ड प्रमुख खड्गलाल श्रेष्ठका अनुसार एडिबीको ७२ र नेपाल सरकारको २८ प्रतिशत संयुक्त लगानीमा कमला कञ्चनपुर सडक निर्माणको काम सन् २०२० अक्टोबरबाट सुरु भई आउँदो अक्टोबरसम्म सम्पन्न गर्ने गरी चाइनिज ठेकेदार कम्पनी चाइना रेलवे २ इन्जिनियरिङ ग्रुपले पाएको बताउनुभयो । उहाँले दुई वटा प्याकेजमा सुरु भएको सडक निर्माण अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कुशाहसम्मको ३९ किलोमिटर पूर्वी खण्डका लागि कूल ७ अर्ब २७ करोडमा ठेक्का लागेको बताउनु हुँदै कालोपत्रेसँगै ३९ वटा पुल निर्माण गर्नुपर्ने समेत रहेको बताउनुभयो ।
सप्तरीका स्थानीयवासी राधे श्याम यादवका अनुसार सडक निर्माणको समयसीमा सक्ने केही महिना मात्र बाँकी हुँदा अहिलेसम्म न त पुल निर्माण पुरा भएको छ न त कालोपत्रै बिछ्याउने काम नै सुरु भएको छ । उहाँले नेपाली ठेकेदार कम्पनी जस्तै विदेशी ठेकेदार कम्पनीले पनि तोकिएको समयसिमाभित्र निर्माण काम पुरा गर्न नसकेपछि सर्वसाधारणलाई लामो समयदेखि धुवाँधुलोको सास्ती व्यहोर्नुपरेको गुनासो पोख्नुभयो । सडक निर्माणले खुसी तुल्याएपनि यस क्रममा खनिएको खाल्टोले दुर्घटना निम्तयाइरहेको छ भने पानीसमेत नछर्किँदा स्वास्थ्यमा प्रतिकुल असर पुगिरहेको सर्वसाधारणको भनाइ छ ।
उता एउटै ठेकेदार कम्पनी र समयसीमा रहेको प्याकेज २ अर्थात् सिरहाको बलानदेखि कमलासम्म पश्चिमी खण्डको अवस्था पनि यस्तै छ । कञ्चनपुर-कमला सडक योजना, सिरहा, पश्चिमी खण्ड प्रमुख नारायण दत्त भण्डारीका अनुसार पश्चिमी खण्डको कुल ४७ किलोमिटर सडक निर्माण कामको ठेक्का ८ अर्ब ३८ करोडमा लागेको छ भने यस अन्तर्गत २५ वटा पुल र एक सय १५ वटा कलभर्ट निर्माण गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले नयाँ प्रविधिबाट निर्माण भइरहेको पिच, पुल र कलभर्टकालागि सप्तरी र सिरहामा छुट्टाछुट्टै निर्माण कम्पनीले प्लान्ट नै स्थापना गरेर काम अगाडी बढेको बताउनुभयो । पश्चिमी खण्ड प्रमुख भण्डारीले प्लान्टमै पुलका बिमसहितका आवश्यक संरचना निर्माण भइरहेको र त्यहाँबाट ल्याएर निर्माणस्थलमा राख्ने गरिएको छ भने पिचका लागि कालोपत्रैको प्लान्ट पनि स्थापना भइसकेको र अधिकांश काम प्लान्टभित्रै भइरहेकाले तत्काल परिणाममुखी नदेखिएको हुँदा अब चाँडै देखापर्ने बताउनुभयो ।
पश्चिमी खण्ड प्रमुख भण्डारीले विगतमा योजना सञ्चालनका लागि एडिबीको बजेट उपलब्ध हुँदा पनि नेपाल सरकारको बजेटमा समस्या हुने गरेकोले अव तत्कालका लागि यो समस्या हालै समाधान भइसकेकोले कामले गति पाउने दाबी गर्नुभयो । उहाँले करिब तीन वर्षको अवधिमा हालसम्म पूर्वी खण्डमा वित्तीयतर्फ १८ प्रतिशत र भौतिकतर्फ २८ प्रतिशत निर्माण काम भएको छ भने पश्चिमी खण्डमा वित्तीयतर्फ १६ प्रतिशत र भौतिकतर्फ ३१ प्रतिशत प्रगति देखिएको जानकारी दिनुभयो ।
अहिले परामर्शदाताको सल्लाहमा सरकारले ठेकेदार कम्पनीलाई थप ६ महिनाको समयसिमा थप्ने प्रक्रिया अगाडी बढाएपनि स्थलगत रूपमा निर्माणको गतिलाई विश्लेषण गर्दा थपिने समयसिमामा पनि सडक निर्माण सम्पन्न नहुने स्थानीयको भनाइ छ ।