• ७ वैशाख २०८१, शुक्रबार

चलचित्र ‘गुराँस’ को तारिफ

blog

काठमाडौँ, असार २४ गते । नेपाली चलचित्र ‘गुराँस’ को चेक रिपब्लिकमा चलिरहेको ‘दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’ मा प्रिमियर भएको छ । चलचित्रले उपस्थित दर्शकबाट राम्रो प्रतिक्रिया पाएको चलचित्रका निर्देशक सौरभ राईले बताउनुभयो । “यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो, यसले हामीलाई सन्तुष्ट बनाएको छ,” उहाँले भन्नुभयो ।

हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । 

चलचित्रलाई राई स्वयम्ले लेख्नुभएको हो । उहाँले चलचित्रको कथा आफ्नै भोगाइमा केन्द्रित भएको बताउनुभयो । “केही समय पहिले मेरो घरको पनि कुकुर यसरी नै हरायो । कुकुर हराएको कुराले आमा एकदमै चिन्तित हुनुभयो । एक दिन टाढाबाट आइरहेको कुकुरको आवाज आफ्नै जस्तो लागेर उहाँ खोज्न निस्किनुभयो । आमाको त्यो खोजाइलाई मैले बालिकामा कल्पना गरेर यो कथा तयार गरेको हुँ,” उनले भने, “जसरी गुराँस जङ्गलमा भइकन पनि निर्दोष हुन्छ, यो कथाको चरित्र पनि त्यस्तै नै छ ।”

प्रदर्शनीमा चलचित्रकी अभिनेतृ मेनुका प्रधान पनि सहभागी हुनुहुन्थ्यो । अभिनेतृ प्रधानले महोत्सवमा सहभागिता जनाउनु आफ्ना लागि नयाँ अनुभव रहेको प्रतिक्रिया दिनुभयो । “यहाँ धेरैभन्दा धेरै चलचित्र हेर्ने मन छ,” उहाँले भन्नुभयो, “गुराँस पनि यहीँ हेरेँ ।” चलचित्र गुराँसमा उहाँले आमाको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्र तुलसी खवासले ‘गुराँस’ को रूपमा शीर्ष भूमिका निर्वाह गर्नुभएको छ भने खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ । 

चलचित्रको प्राविधिक काम मुम्बईमा गरिएको थियो भने छायाङ्कन सुबल केआरले गर्नुभएको हो । सौरभ राई र अङ्किता पुरकायस्थले चलचित्रको सम्पादन गर्नुभएको छ । लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गर्नुभएको चलचित्र मुम्बई फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको थियो ।