• ११ पुस २०८१, बिहिबार

भारतीय गुप्तचरलाई सार्वजनिक रुपमै भेटेको हुँ : अध्यक्ष ओली

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओली ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार २२ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर प्रमुख नेपाल आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको बताउनुभएको छ । 

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गुप्तचरसँगको भेट आफूले नलुकाएको उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर भेट गरेको पनि उहाँले दाबी गर्नुभयो । तर सो भेटबारे मिडियामा चर्चा नभएको उहाँको भनाइ छ ।

‘जे कुरामा पनि एमालेलाई दोषी देखाउने काम भइरहेको छ’ अध्यक्ष ओलीले भन्नुभयो, “भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने । मैले सार्वजनिक रुपमा भेटेर कुरा गरेँ ।’ भेटमा जनताको हितको पक्षमा कुरा गरेको उहाँले दाबी गर्नुभयो । 

अध्यक्ष ओलीले नेपालमा बहुदलीय व्यवस्था भए पनि लोकतन्त्र र कानुनीराज नरहेको जिकिर गर्नुभयो । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथि मजाक गरेको उहाँको भनाइ छ । 

छिमेकी देशलाई विवादमा तान्ने प्रयास गर्न नहुने उहाँको भनाइ छ । नेपाली जनतामा रहेको सार्वभौमसत्ताको मजाक गर्न कसैलाई छुट नभएको उहाँले चर्चा गर्नुभयो । प्रितम सिंहले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिपछि पत्रकार सम्मेलन गरेर प्रष्ट पार्नुपरेको उहाँले बताउनुभयो । सिंहले आफू प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको भनाइ राख्नुभएकाले उहाँलाई पनि विवादमा तान्ने काम भएको उहाँले चर्चा गर्नुभयो ।

“मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भनेर अहिलेसम्म भनेको छैन, त्यो भन्न नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ” अध्यक्ष ओलीले थप्नुभयो, “भारतले भनेको छैन तर नेपालको प्रधानमन्त्रीले भनिरहनुभएको छ, नेपालमा सरकार संसद्ले बनाउँछ, कोही आएर बनाउने होइन ।”

अध्यक्ष ओलीले प्रदेशमा सरकार गठनको नाममा संविधान मिच्ने काम भइरहेको बताउनुभयो । सभामुखले नै हस्ताक्षर बुझाएर सरकार गठन गर्ने कुरा उचित नरहेको उहाँको भनाइ छ ।