• २० असोज २०८१, आइतबार

मुख्यमन्त्रीको दाबी अस्वीकार गर्न प्रदेश प्रमुखलाई आग्रह

blog

कोशी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी । फाइल तस्बिर

गोकुल पराजुली

विराटनगर, असार २१ गते । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले सभामुख समेतको सङ्ख्या देखाएर पेस हुने दाबीलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गर्नुभएको छ । 

एमाले संसदीय दलको तर्फबाट प्रदेश प्रमुखलाई लिखित र मौखिक रूपमा सभामुखलाई सरकार गठन प्रक्रियामा समावेश नगर्न आग्रह गर्ने तयारी भएको सो दलले जनाएको छ । 

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भन्नुभयो, ‘सभामुखलाई सरकार गठनको अङ्कगणितमा समावेश गर्न मिल्दैन भन्नेमा हामी प्रष्ट छौँ र यो विषय प्रदेश प्रमुखलाई लिखित र मौखिक दुवै ढङ्गले आज आग्रह गर्दैछौं ।’

प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई संविधानको धारा १६८ (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न आज अपराह्न ५ बजेसम्मको समय दिनुभएको छ । 

विपक्षी गठबन्धन दलले सभामुख समेतको सङ्ख्या लिएर मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छ । विपक्षी दलहरू ४ः३० बजे मुख्यमन्त्री कार्यालयमा पुग्ने तयारी गरेको जानकारी प्राप्त भएको छ ।