काठमाडौं, असार २० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताउनुभएको छ। बुधबार दिउँसो नेकपा (माओवादी केन्द्र) निकट युवा महिलाको भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले एउटा पुस्तक विमोचनको सन्दर्भमा भनेको कुरालाई बङ्ग्याएर संसद् अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटरब्याजीलाई कारबाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूची थियो। कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छैन। त्यसैले यसलाई रोक्न संसद् अवरुद्ध गरिँदैछ।’’
प्रधानमन्त्री प्रचण्डले आफूहरू सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा रहेको प्रष्ट पार्नुभयो। उहाँले २०८४ मा माओवादी धारा शक्तिशाली बन्नेसमेत बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘हामी एउटा लडाइँमा छौँ, सुशासनको लडाइँ, भ्रष्टाचार विरुद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ। विगतमा हामी विभाजित भयौँ, त्यसले कमजोर पनि भयौँ। तर अहिले परिस्थिति फेरिएको छ। माओवादी धाराका सबै शक्ति एकताबद्ध हुँदैछौँ। २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ।’’
उहाँले युवालाई विश्वासमा लिएर नयाँ ढङ्गले अगाडि बढ्ने बताउनुभएको छ। ‘‘युवालाई सङ्गठित गर्ने, प्रशिक्षित गर्ने कुरा महत्त्वपूर्ण कुरा हो। युवामा विश्वास गरेर हामी नयाँ ढङ्गले अगाडि बढ्छौँ। तपाईँ महिला युवाहरू पनि देशको सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा लाग्नुस्’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।
प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताउनुभयो। उहाँले १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘विद्युत् व्यापार सम्झौता सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ। सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो।’’