• २० असोज २०८१, आइतबार

अध्यक्षको सेवा सुविधाको रकम जनहितमा खर्च

blog

फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २० गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले आफ्नो सेवा सुविधाको रकम गाउँपालिकावासीको हितमा खर्च गर्नुहुने भएको छ। जनप्रतिनिधिका रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि लिम्बूले सेवा सुविधाबापत हालसम्मको करिब छ लाख रुपियाँ रकम जनहितका लागि खर्च गर्नुहुने भएको हो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गर्दै प्रदेश सरकारले निर्दिष्ट गरेअनुसार आफूले पाउने सेवा सुविधाबापतको हालसम्मको कुल पाँच लाख ८६ हजार ८०० रुपियाँ गाउँपालिकावासीको हितमा खर्च गर्ने अध्यक्ष लिम्बूले उल्लेख गर्नुभएको छ। अध्यक्ष लिम्बूले पाउने सो रकम फक्ताङ्लुङ डेभलपमेन्ट फाउण्डेसन नामक संस्था स्थापना गरी सो संस्थामार्फत पालिकावासी जनताको हितमा खर्च गरिनेछ।

स्थानीय तहको निर्वाचनका समयमा अध्यक्ष पदमा उम्मेदवारी दिएपछि लिम्बूले आफ्नो चुनावी घोषणापत्रमा नै सेवा सुविधाबापतको रकम नलिने र गाउँपालिकाको सवारी साधन पनि नचढ्ने प्रतिबद्धता गर्नुभएको थियो। सोही चुनावी प्रतिबद्धताअनुसार उहाँले भत्ता, पारिश्रमिकलगायत शीर्षकमा पाउने सेवा सुविधाको रकम गाउँपालिकावासीको हितमा खर्च गर्नुहुने भएको हो।  

अध्यक्ष लिम्बूले सुरुदेखि अर्थात् निर्वाचित भएदेखि नै गाउँपालिकाको गाडी (सवारी साधन) प्रयोग गर्नुभएको छैन। लिम्बूले निर्वाचित भएर कार्यभार सम्हालेदेखि नै पालिका अध्यक्षले चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिँदै आएको छ। गाउँका स्वास्थ्य संस्थामा उपचार सम्भव नभएका बिरामीलाई सदरमुकामस्थित जिल्ला अस्पतालसम्म पुर्‍याउनमा अध्यक्षले चढ्ने गाडी प्रयोग गर्ने गरिएको छ।

अध्यक्षले चढ्ने सवारी साधन (गाडी) लाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न सुरु गरेपछि चालू आवको हालसम्ममा २६५ जनाले सेवा प्राप्त गरेका गाउँपालिकाले जनाएको छ। अध्यक्ष लिम्बूले कार्यकालभरि नै सेवा सुविधाको रकम नलिने र गाउँपालिकाको गाडी नचढ्ने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ। लिम्बू नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार भई अध्यक्षमा निर्वाचित हुनुभएको हो।