• ११ असोज २०८१, शुक्रबार

भ्रष्टाचारविरुद्ध सतिसालझैँ उभिन्छु : प्रधानमन्त्री प्रचण्ड

blog

अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलामा सहभागी प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, असार असार २० गते। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताउनुभएको छ। बुधबार अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले सरकारको सङ्कल्पबाट भ्रष्टहरू तर्सिएको बताउनुभएको हो।

कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टमाथि कारबाही सुरु भएको छ। ललिता निवासको फाइल फेरि खोलिएको छ। यो पक्रिया रोकिन्न, हेर्दै जानुहोला। थप फाइलहरू खोलिन्छ र कारबाही हुन्छ।’’ 

२०६४ सालमा राम्रो परिणाम माओवादीको पक्षमा आए पनि पार्टी टुटफुट र विभाजनले आन्दोलन कमजोर भएको स्वीकार गर्दै उहाँले अहिले एकताको राम्रो आधार बन्दै गएको बताउनुभएको छ। 

‘‘२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौँ। तर, पार्टी एकताबद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘फेरि एउटा नयाँ परिस्थिति बनेको छ।  माओवादी शक्तिबीच एकताको राम्रो आधार बन्दैछ। पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत् एकतासहित अगाडि बढ्छौँ।’’ 

अहिले घेरा हाल्ने र भ्रम छर्ने षड्यन्त्र भए पनि २०८४ सालको निर्वाचनमा पार्टीले शक्तिशाली परिणाम दिनुपर्ने उहाँको भनाइ छ।  ‘‘घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियो’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यो आफैमा वर्ग सङ्घर्ष हो। वर्ग सङ्घर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो। २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुने परिणाम दिनुपर्छ।’’

माओवादी सरकारमा भएको कतिपयले नपचेर विज्ञप्ति भएको भन्दै उहाँले देश र जनताको पक्षमा लागि रहनुपर्ने बताउनुभयो। सरकार असफल पार्न षड्यन्त्र भइरहेको भए पनि त्यसलाई जनताले ठिक पार्ने उहाँको भनाइ छ। 

‘‘इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन। भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त र हैरान छन्। तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ। सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौँ’’, प्रचण्डले भन्नुभयो, ‘‘सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्र छन्। तर, तिनीहरूलाई जनताले नै ठिक पार्छन्।’’