• ११ असोज २०८१, शुक्रबार

नयाँ उद्योगमा दुई खर्ब लगानी प्रस्ताव

blog

काठमाडौँ, असार २० गते । चालु आर्थिक वर्षको ११ महिनामा स्वदेशी र विदेशी गरी २८३ नयाँ उद्योग दर्ता भएका छन् । स्वदेशी तथा विदेशी लगानीका यी नयाँ उद्योगहरूमा प्रस्तावित लगानी दुई खर्ब तीन अर्ब रुपियाँ हाराहारी रहेको उद्योग विभागको तथ्याङ्कमा छ । गत वर्षको तुलनामा स्वदेशी र विदेशी लगानीका उद्योग दर्तामा कमी आएको विभागले जनाएको छ । 

ती उद्योग सञ्चालनमा आए २० हजार जनाभन्दा बढीले रोजगारी पाउने अनुमान गरिएको छ । चालु आवको ११ महिनामा १५८ वटा साना, ६४ मझौला र ६१ ठुला प्रकृतिका उद्योग दर्ता भएका छन् । 

उद्योग विभागको तथ्याङ्क अनुसार मुलुकमा सुरुदेखि हालसम्म नौ हजार ४६ स्वदेशी तथा विदेशी लगानीका उद्योग दर्ता भएका छन् । यी उद्योगले २८ खर्ब २७ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने त्यसमध्ये केही मात्र यथार्थमा लगानी भएको छ । भित्रिएका लगानीबाट छ लाख ७७ हजारभन्दा बढीका लागि रोजगारी सिर्जना भएको विभागको विवरणमा छ । लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत मात्र रकम उद्योगमा आउने गरेको बताइएको छ । 

आव २०७९/८० को जेठ मसान्तसम्म दर्ता भएका नयाँ उद्योग विशेष गरी उत्पादनमूलक छन् । चालु आवको ११ महिनामा दर्ता भएका उद्योगमध्ये ३७.४५ प्रतिशत उत्पादनमूलक क्षेत्रका छन् । यस क्षेत्रका मात्रै १०६ वटा नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन क्षेत्रमा १९.०८ प्रतिशत अर्थात् ५४ नयाँ उद्योग स्थापना हुने गरी अनुमति लिएका छन् । यसबाहेक ऊर्जा क्षेत्रमा १४.४८ प्रतिशत अर्थात् ४१ उद्योगले अनुमति लिएका छन् । पूर्वाधारमा एउटा उद्योग नयाँ छ । सूचना प्रविधिमा ३.८८ प्रतिशत अर्थात् ११ नयाँ उद्योग तथा मिनरल उद्योगमा चार नयाँ उद्योग र कृषि क्षेत्रमा सात नयाँ उद्योग दर्ता भएका छन् । 

औद्योगिक व्यवसाय ऐन, २०७६ ले ५० करोडभन्दा बढी स्थिर पुँजी भएकालाई ठुला उद्योग, १५ करोडदेखि ५० करोड रुपियाँसम्मको स्थिर पुँजी भएकालाई मझौला उद्योग र १५ करोड रुपियाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योगमा गनिन्छ ।  

यसैबिच चालु आवको ११ महिना (जेठ) सम्म ३४ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३४ अर्ब ५८ करोड ४७ लाख छ हजार रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रस्ताव आएको हो । गत वर्ष सो अवधिमा ४६ अर्ब ७६ करोड पाँच लाख रुपियाँ प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा २६ प्रतिशत अर्थात् १२ अर्ब ९६ करोड रुपियाँले वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको विभागले जनाएको छ । विश्वभर देखा परेको आर्थिक मन्दीका कारण गत वर्षको तुलनामा विदेशी लगानी प्रतिबद्धतामा कमी आएको विभागले जनाएको छ ।