• २० असोज २०८१, आइतबार

डाइभर्सन निर्माणका लागि फालेलुङका कर्मचारीद्वारा सहयोगको आह्वान

blog

फालेलुङ गाउँपालिका स्थित डाइभर्सन निर्माण स्थलतर्फ ढुवानी गरेर लैजादै गरिएको हिमपाइप।तस्बिर सौजन्य : फालेलुङ गाउँपालिका कार्यालय

नारायण तुम्बापो

फिदिम,असार १९ गते। पाँचथरको फालेलुङ गाउँपालिका स्थित स्थानीय तह कर्मचारी हक हित मञ्चले मञ्च सम्बद्ध कर्मचारीसँग सहयोगको आह्वान गरेको छ। बाढी पहिरोले स्थानीय विभिन्न ठाउँका मोटरएबल पुल बगाएपछि अवरुद्ध सडक खुलाउनमा सहयोग पुर्‍याउन मञ्चले अपिल गरेको हो। 

असार २/३ गते परेको भारी वर्षासँगै आएको बाढी पहिरोले फालेलुङ गापाका तीन वटा मोटरएबल पुल बगाएको छ। वाड नं. ३ र ७, ३ र ४ तथा ३ र ५ जोडने हेवाखोला, नवमीखोला र खेउथाम खोलाको मोटरएवल पुल बगाएको हो।

पुल बगेपछि दैनिक आवागमन, उपभोग्य सामग्री आपूर्ति र स्थानीय उत्पादन निकासी गर्न नपाउँदा फालेलुङ १, २, ३, ४ र ५ वडावासीको जनजीवन कष्टकर बनेको  छ।तत्कालमा पक्की पुल निर्माणमा सङ्घ, प्रदेश सरकारबाट सहयोग सम्भव नदेखिएकोले डाइभर्सन निर्माणको पहल गाउँपालिकाले गरिरहेको छ।

यसमा गाउँपालिकालाई साथ दिन यो संंकटकालीन अवस्थामा कर्मचारीको पनि सहयोगको ठुलो आवश्यक देखिएको भन्दै मञ्चले सम्बन्धितसँग सहायताको आह्वान गरेको छ।स्वैच्छिक सहयोग दानका लागि मञ्च अध्यक्ष कृष्ण रिमाल र सचिव वीरेन्द्रकुमार बानियाँद्वारा हस्ताक्षरित आह्वान पत्र समेत जारी गरिएको छ।

आह्वान  पत्रमा विषम परिस्थितिमा सरकारलाई आर्थिक सहायता पुर्‍याउनु कर्मचारीको नैतिक दायित्व र जिम्मेवारी सम्झिएर सहयोग गर्न भनिएको छ।सहयोगको आह्वान कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकसँग गरिएको हो।

तीन ठाउँका लागि होमपाइप खरिद तथा डाइभर्सन निर्माणका लागि १५ लाख रकम लाग्ने अनुमान रहेको फालेलुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताउनुभयो।स्थानीयवासीको श्रमदान समेतको सहयोगले डाइभर्सन निर्माण गरेर अवरुद्ध सडकहरू चाँडै सञ्चालन गर्नमा आफूहरू लागिरहेको उहाँले सुनाउनुभयो।यस कार्यमा सहयोग पुर्‍याउन आम सरोकारवालासँग अधिकृत आङ्देम्बेले अनुरोध गर्नुभएको छ।

बाढी पहिरोले फालेलुङका मुख्य सडकका मोटरएवल पुलहरू बगाउँदा स्थानीयवासीले १६ दिन यतादेखि यातायात सम्पर्क विच्छेदको स्थिति भोग्नु परिरहेको छ।जसका कारण स्थानीयवासीले विभिन्न खाले जटिलताको स्थिति सामना गरिरहेको अवस्था छ।