• २० असोज २०८१, आइतबार

सुरक्षित यात्रामा चालक र यात्रु दुवै जिम्मेवार

blog

ट्राफिक सप्ताहमा आफ्नो भनाइ राख्नुहुँदै प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ। तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १९ गते । सुरक्षित यात्राका लागि सवारी चालक र यात्रु दुवै जिम्मेवार अर्थात् संवेदनशील हुनुपर्ने सरोकारवालाले बताएका छन् । मङ्गलबारदेखि सुरु भएको ट्राफिक सप्ताहको शुभारम्भ कार्यक्रममा सुरक्षित यातायात र जोखिमविहीन यात्राका लागि चालक र यात्रु दुवैले संवेदनशील हुनुपर्ने औँल्याइएको हो।

ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सुरक्षित यात्राका लागि चालक र यात्रुले सचेत, गम्भीर र संवेदनशील हुनुपर्ने बताउनुभयो । सुरक्षित यात्रामा ट्राफिक नियमको पालना अनिवार्य भएको बताउँदै प्रजिअ चेम्जोङले यसमा सवारी चालक र यात्रु जिम्मेवार हुनुपर्ने बताउनुभयो । 

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले ट्राफिक नियमको उल्लङ्घनकै कारण सवारी दुर्घटनाको उच्च जोखिम रहने बताउनुभयो । ट्राफिक प्रहरीले ट्राफिक नियमको पालना गर्नु भन्नुभन्दा पनि सुरक्षित यात्राका लागि आफैँ संवेदनशील भइदिए सवारी दुर्घटना न्यूनीकरणमा योगदान पुग्ने प्रनाउ लिम्बूले बताउनुभयो । 

प्याब्सनका पूर्वकेन्द्रीय सदस्य सामाजिक अभियन्ता युवराज गिरीले साँघुरो बाटो, विद्यालय क्षेत्र र तीव्र गतिका कारण सवारी दुर्घटनाको उच्च जोखिम हुने बताउनुभयो । गिरीले सवारीको तीव्र गति नियन्त्रण गर्नमा अब चालक आफैँ जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष आनन्द गौतमले ट्राफिक प्रहरीले ट्राफिक नियमको पालन गर्न भनेपछि मात्र चालक वा सवारी धनी तयार हुनुपर्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो । 

सवारी दुर्घटनाबाट क्षति व्यहोर्नेमा सवारी चालक र सवार यात्रु हुने भएकोले सबैभन्दा बढी चालक गम्भीर हुनुपर्ने गौतमको भनाइ थियो । यस्तै ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले ट्राफिक नियमको उल्लङ्घन नै सवारी दुर्घटनाको प्रमुख कारण भएकोले ट्राफिक नियमको अनिवार्य पालना गर्नुपर्ने जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको संयोजनमा ट्राफिक सप्ताहको शुभारम्भ गरिएको छ ।a