• १२ असोज २०८१, शनिबार

‘विद्यालयस्तरको पाठ्यक्रममै खेलकुद’

blog

नगर भलिबल क्लबको भवन उद्घाटन क्रममा सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू । तस्बिर : गोरखापत्र

हरि कोइराला 

उर्लाबारी, असार २० गते । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकार विद्यालय स्तरको पाठ्यक्रममै खेलकुदका गतिविधि र तालिम सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

मोरङको लेटाङमा लेटाङ नगर भलिबल क्लबको भवन उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री भएपछि पहिलो पटक गृह नगर पुग्नुभएका मन्त्री लिम्बूले १४ वर्षका बालबालिकालाई उनीहरूको रोजाइ अनुसारको तालिमको व्यवस्था मिलाउन सके उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने बताउनुभयो ।

लेटाङको पर्यटकीय गतिविधिलाई खेलसँगै अघि बढाउन पूर्वाधान सम्पन्न रङ्गशाला आवश्यक रहेको औँल्याउँदै उहाँले लेटाङमा रङ्गशाला निर्माण गर्न सकिने मैदान छनोट गरेर आउन आग्रह गर्नुभयो ।

‘‘वडापिच्छे रङ्गशाला सम्भव छैन । विचार सिद्धान्त फरक भए पनि विकास निर्माणका विषयमा साझा एजेण्डा तयार गर्न आवश्यक छ । हरेक वर्ष बजेट व्यवस्था गर्ने गरी लेटाङमा रङ्गशालाका लागि बजेट व्यवस्थापन हुनेछ ।’’‘

युवा तथा खेलकुद मन्त्रालयलाई दुई अर्ब ८७ करोड रुपियाँ बजेट रहेको बताउँदै यो बजेट अहिलेको आवश्यकता अनुसार अत्यन्तै कम भएको उल्लेख गर्नुभयो ।

अर्को फरक प्रसङ्गमा मन्त्री लिम्बूले स्थायी सरकार निर्माणका लागि वर्तमान गठबन्धन सरकार बनेको बताउनुभयो । गठबन्धनको औचित्य स्थापित गर्ने दायित्व यही सरकारलाई रहेको मन्त्री लिम्बूको भनाइ थियो ।

कोशी प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको १५ लाख रुपियाँ र तीन लाख रुपियाँ जनसहभागिताबाट सुविधा सम्पन्न भलिबल कोर्ट, दुईतले भवन र चारवटा फल्र्डलाइट निर्माण गरिएको हो ।