• १५ मंसिर २०८१, शनिबार

ललितपुरको ऐतिहासिक अदालत भवन पुनर्निर्माणको प्रतीक्षामा

blog

ललितपुरको मङ्गलबजारमा रहेको ऐतिहासिक अदालत भवन पुनर्निर्माणको प्रतीक्षामा । तस्बिर : हरि परियार/रासस

ललितपुर, असार १९ गते । ललितपुरको पाटन म्युजियमको छेउमा अदालत भवन नामको एउटा ऐतिहासिक भवन छ । घाँसले ढपक्क ढाकेको उक्त भवनको एउटा कोठा इलाका हुलाक कार्यालयले प्रयोग गरिरहेको छ । राणाकालीन संरचनाको अदालत भवनको अवस्था निकै नाजुक छ । सबै ढोका अहिले बन्द अवस्थामा छन् । 

ललितपुरको पाटन दरबार क्षेत्र विश्व सम्पदा क्षेत्रमा अवस्थित छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको सो भवनसहित कतिपय सम्पदा पुनर्निर्माण हुँदैछन् । ऐतिहासिक अदालत भनवको नामले चिनिने जीर्ण अवस्थामा रहेको उक्त भवन पुनर्निर्माणको काम अझै सुरु नहुँदा दिन प्रतिदिन जीर्ण देखिँदै गएको हो ।

जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी शारदा शिवाकोटीका अनुसार उक्त  भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने प्रक्रियामा छ ।

उहाँले भन्नुभयो, “ऐतिहासिक अदालत भवनको पुनर्निर्माण भारतीय दूतावासको सहयोगमा हुने भएको छ । विसं १९९० को भूकम्प अगाडिको सो भवन तीन तलाको रहेको देखिएकाले पुरानै स्वरुपमा भवन निर्माण गर्न नक्सा पास भएको छ ।”

माटोको जोडाइमा इँटाद्वारा निर्मित ऐतिहासिक  भवनलाई २०७२ सालको भूकम्पले थप क्षति पुर्‍याएको थियो । भूकम्पपछि उक्त भवन जस्तै अन्य राणाकालीन दरबारका संरचना पनि पुनःनिर्माण भएका छैनन् । अहिले सो भवन पनि संरक्षणको अभावले भत्किने जोखिममा छ ।

सत्यमोहन जोशी मार्गमा रहेको उक्त  भवनको एउटा कोठामा इलाका हुलाक कार्यालय छ । “पञ्चायतकालमै अदालतको भवनमा जिल्ला हुलाक कार्यालय रहेको र उक्त कार्यालय आफ्नै भवनमा सरेपछि अहिले त्यहाँ इलाका हुलाक कार्यालय रहेको इलाका हुलाक कार्यालयकी कर्मचारी लीला खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले हुलाक कार्यालयमा जागिर खाएको करिब २८ वर्ष पुग्यो । अब यो भवन भत्काएर पुनर्निर्माणको प्रक्रियामा छ भन्ने सुनेको छु । हाम्रो इलाका हुलाक कार्यालय कहाँ सर्छ थाहा छैन ।”

उक्त भवनलाई नेपालको प्राचीन स्मारक संरक्षण ऐन २०१३ (१९५६) अनुसार २०७२ सालको भूकम्पबाट प्रभावित सम्पदाको संरक्षणको नाममा पुनर्निर्माणका लागि पुरातत्व विभागको आधारभूत निर्देशिकामा आधारित रहेर निर्माण गरिनेछ । भवनको संरक्षण नीतिअन्तर्गत उक्त भवन पुनर्निर्माणका लागि प्रस्ताव गरिएको पुरातत्व विभागको भनाइ छ । रासस