• १३ साउन २०८१, आइतबार

अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिन थालिसकेको छ : अर्थमन्त्री महत

blog

संसदको अर्थ समितिमा आफ्नो भनाइ राख्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : अर्थ मन्त्रीको सचिवालय

काठमाडौं, असार १९ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको बताउनुभयो । मङ्गलबार संसद्को अर्थ समितिमा बोल्नुहुँदै डा. महतले भन्नुभयो, ‘‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ ।’’

मन्त्री महतले थप्दै भन्नुभयो, ‘‘हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौँ । यो कालखण्डमा हामीले राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा हामी धेरै पछाडि छौँ ।’’

‘‘आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै छन् । माग धेरै छ, पूरा गरेका कुरा कम छ । यस अर्थ असन्तुष्टि आउनु स्वाभाविक हो ।,’’ उहाँले भन्नुभयो, ‘‘धेरै कुरा हामीले निर्णायक रूपमा सुधार गरेर लैजानुपर्छ । समग्र राज्य संरचना, आम नागरिकलगायत हामी सबैको सक्रियता जरुरी छ ।’’

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘‘अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालय समन्वयकारी भूमिकामा छ । केही ठाउँमा यसले अगुवाइ पनि गरेको छ, सबैको समन्वय र क्रियाशीलताले समस्या हामी न्यून गर्दै जान्छौँ । समस्या न्यून गरियो भने हामी विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सक्छौँ ।’’

‘‘राजस्व उठ्ने विषयमा समस्याहरू देखिएको छ, तर प्रगति भएको छ । राजस्व सङ्कलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौँ, प्रगति भएको छ । हामीले गत वर्षभन्दा ० दशमलव ५२ प्रतिशत बढी उठाउन सक्छौँ ।,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘कसिलो मौद्रिक नीति राष्ट्र बैङ्कले अपनायो, जसले गर्दा आवश्यक मुद्रा प्रवाह हाम्रो अर्थतन्त्रमा भएन । ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पुँजीगत खर्च त्यही रूपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन ।’’

‘‘एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो, अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन, जसले गर्दा भन्सार लक्ष्यअनुसार उठेन, गैरकर गत वर्षभन्दा ११ दशमलव ८८ प्रतिशत बढी उठेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘जो सम्पन्न छ, कर तिर्नुपर्ने स्थितिमा छ, उनीहरूलाई करको दायरामा ल्याएका छौँ । यसले गर्दा हामी आगामी वर्ष राजस्व बढाउन सक्छौँ ।’’


आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने सङ्केतहरू देखिन थालेको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैङ्कलाई भनेका छौँ, समयसीमाभित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई निर्देशन गरिसकेका छौँ ।’’

हाम्रो क्षमताभन्दा पनि बढी हामीले सामाजिक सुरक्षामा खर्च गरेको उहाँको भनाइ थियो । ‘‘पछाडि परेको समुदाय, ज्येष्ठ नागरिकलगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिन्छौँ । यसबाट हामी पछाडि फर्किन सक्दैनौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘अब निर्णय गर्दा विचार गर्नुपर्छ, अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्याङ्क आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरूलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौं । जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता त्यहाँ जाने भयो, जसलाई आवश्यक पर्दैन, त्यहाँ हामीले थप खर्च गर्नुपर्दैन । यो भयो भने हामी आउँदा दिनमा खर्च व्यवस्थापन सहज रूपमा कार्यान्वयन गर्न सक्छौँ ।’’

प्रशासनिक खर्च घटाउन हामी सबै समर्पित लाग्न मन्त्री डा. महतले आग्रह गर्नुभयो । उहाँ भन्नुभयो, ‘‘साना–साना बचतबाट हामीले ठुलो बचत गर्न सक्छौँ । बचत गर्ने काममा हामी सबै गम्भीर भइयो भने ठुलो बचत हुन्छ । यो ठुलो बचतलाई हामी सही ठाउँमा उपयोग गर्न सक्छौँ । यसो भयो भने स्रोत र साधनको हाहाकार रहँदैन ।’’