• १५ असार २०८१, शनिबार

बसपार्कमा विद्युतीय चार्जिङ स्टेसन

blog

लीलाधर वली

घोराही, असार १९ गते  । विद्युतीय गाडी सञ्चालनमा सहजता ल्याउन लमहीमा विद्युतीय चार्जिङ स्टेसन स्थापना भएको छ । जिल्लाभित्रका स्थानीय रुटसँगै पूर्व–पश्चिम राजमार्गमा चल्ने साना तथा ठुला सवारीसाधनलाई हेरेर लमही नगरपालिका–५ को बसपार्कमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिएको हो । 

विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि स्थानीय रुटमा सञ्चालन हुने विद्युतीय गाडीसँगै पूर्व–पश्चिम राजमार्गमा गुड्ने विद्युतीय सवारीसाधनलाई सहज भएको छ । नेपाल सरकारले विद्युतीय गाडीको प्रयोगलाई प्राथमिकता दिन थालेपछि सबैजसो जिल्लामा चार्जिङ स्टेसन निर्माण हुन थालेका छन् । एसियाली विकास बैङ्कको लगानीमा विद्युतीय चार्जिङ स्टेसन निर्माण भएको हो । त्यसका लागि दुई वटा चार्ज गर्ने विद्युतीय मेसिन राखिएको छ । 

विद्युतीय गाडीलाई चार्ज गर्नका लागि सहज भएको नेपाल विद्युत् प्राधिकरण लमहीका प्राविधिक प्रमुख कमल पुन बताउनुहुन्छ। सवारीधनीलाई चार्जिङमा सहजताका लागि अनलाइनमार्फत भुक्तानीको व्यवस्था गरिएको छ । प्राविधिक प्रमुखका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय गाडी चार्ज गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ । 

प्राविधिक प्रमुख पुनले भन्नुभयो, “लमहीमा चार्जिङ स्टेसन निर्माण भएपछि हामीले मिटर जडान गरेर लाइन जोडेपछि असारदेखि सुरु भएको हो। प्राविधिक रूपमा हामीले केही सहयोग गरे पनि सम्पूर्ण काम एसियाली विकास बैङ्कले गरेको हो।” सवारीसाधनलाई चार्ज शुल्क ब्याट्रीको साइज अनुसार लाग्ने उहाँले बताउनुभयो। गाडीलाई चार्जका लागि प्रतियुनिट पाँच रुपियाँ छ पैसाका दरले लिने व्यवस्था गरिएको बताउनुभयो। साना हलुका सवारीहरू पौने घण्टामै चार्ज हुन्छ भने ठुला गाडीको हकमा गाडीको क्षमता हेरेर ३० मिनेटदेखि दुई घण्टामा चार्ज हुन समय लाग्ने प्राधिकरणका प्राविधिक प्रमुख पुन बताउनुहुन्छ। पुनका अनुसार एसियाली विकास बैङ्कले पाँच वर्षसम्म आफैँ सञ्चालन गर्ने र त्यसपछि प्राधिकरणलाई हस्तान्तरण गर्ने भएको छ । 

लमहीमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै स्थानीयलाई सहज भएको लमही निवासी हिमाल महरा बताउनुहुन्छ। डिजेल तथा पेट्रोलको मूल्य वृद्धिले मारमा परेका सवारीसाधनका प्रयोगकर्तालाई विद्युतीय चार्जिङ स्टेसनले सहज हुने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “साना गाडी घरमा चार्ज गर्न मिल्थ्यो तर ठुला गाडीलाई समस्या थियो। लमहीस्थित बसपार्कमा चार्जिङ स्टेसन निर्माण भएपछि सहज भएको छ ।” पछिल्लो समय जिल्लामा विद्युतीय गाडीको प्रयोग बढ्दै गएपछि जिल्लाका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेसन खुल्न थालेका हुन् ।