रमेश पौडेल
पोखरा, असार १९ गते । गाउँघरमा बाँदरले हैरानी पारेपछि किसानले धेरै दुःख पाइरहेका बेला गण्डकी विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने प्रविधिको विकास गरेका छन्। स्थापनाको छोटो समयमा नै अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवर्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित उपयोगी अनुसन्धान कार्य अन्तर्गत उक्त प्रविधि निर्माण गरिएको गण्डकी विश्वविद्यालयका राजिस्ट्रार कैलाश तिमिल्सिनाले बताउनुभयो।
किसानको बारीमा सोलार जडित मेसिन राखी मोबाइलबाट अपडेट लिन सकिने र आवश्यकता अनुरूप आवाज दिएपछि बाँदर भाग्ने कुरा मेसिन निर्माण गरिरहनुभएका राष्ट्रिय अनुसन्धान केन्द्रका ई. रितेश देवले बताउनुभयो। सङ्घ एवं प्रदेश सरकारको प्राथमिकतामा रहेको बाँदर धपाउने कार्यक्रम अनुरूप विश्वविद्यालयले अनुसन्धान गरी तयार पारिएको मेसिन प्रभावकारी हुने बताइएको छ। ‘मङ्की रेपेलेन्ट डिभाइज’ नामकरण गरिएको उक्त मेसिनमा बाघ, भालु, कुकुरजस्ता बाँदर डराउने जनावरको आवाज राखिएको छ। मानिस कराएको, बाजा बजाएको लगायतका आवाज राखिएको छ। उक्त आवाजले बाँदर भाग्ने अनुसन्धान विज्ञको ठम्याइ छ।
व्यापारिक रूपमा यस प्रविधिको मूल्य करिब ७० हजार रहेको अनुसन्धान केन्द्रले जनाएको छ। विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले सङ्घ, प्रदेश र स्थानीय तहले यस मेसिन खरिद गरी आम किसान माझ पु-याउनुपर्ने बताउनुभयो।
बाँदर धपाउन ड्रोनको प्रयोग गर्न सकिने प्रविधिको विकास गरिएको छ। अनुसन्धान केन्द्रले पोलिथिन पाइपबाट निर्माण गरिएको बन्दुकको पनि आविष्कार गरेका छन्। जसमा क्यालसियम कार्बन राखेर पड्काउँदा बन्दुकको जस्तै ठूलो आवाज आउने हुँदा बाँदर तर्सिएर भाग्ने अनुसन्धानमा पाइएको छ।