• २० असोज २०८१, आइतबार

आठराई त्रिवेणीद्वारा पहिरो पीडितलाई राहत वितरण

blog

मृतकका परिवारलाई राहत रकम वितरण गर्नुहुँदै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १८ गते। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ। सोमबार सिदिङ्वा गाउँपालिका पुगेर आठराई त्रिवेणी गाउँपालिकाका पदाधिकारीले पीडित परिवारलाई राहत रकम वितरण गरेको हो। 

आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु, उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङसहितको टोलीले बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत वितरण गरेको छ। सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखु भञ्ज्याङमा पीडित परिवारलाई केन्द्रित गरी राहत रकम वितरण गरिएको आठराई त्रिवेणीका अध्यक्ष पोमुले जानकारी दिनुभयो। 

अध्यक्ष पोमुका अनुसार पहिरोमा परी ज्यान गुमाउने तथा बेपत्ता हुनेछ जनाका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपियाँका दरले राहत रकम वितरण गरिएको छ। राहत रकमबापत पीडित परिवारलाई नगद नै वितरण गरिएको छ। राहत रकम अध्यक्ष पोमु, उपाध्यक्ष आङ्बुहाङ साथै सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई र उपाध्यक्ष कृष्णकुमारी कडरियाले पीडित परिवारलाई वितरण गर्नुभयो।

यस्तै सिदिङ्वा गाउँपालिकाले पनि सोमबार नै बाढीपहिरोमा परी मृत्यु र बेपत्ता हुनेका परिवारलाई जनही ६० हजार रुपियाँका दरले राहत रकम वितरण गरेको जनाइएको छ। भीषण वर्षासँगै गत असार २ र ४ गतेको पहिरोमा परी सिदिङ्वा गाउँपालिका–६  मेहेलेमा एकै परिवारका बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ। त्यस्तै सोही स्थानका एकैपरिवारका तीनजना बाढीपहिरोमा परी बेपत्ता हुनुभएको छ।