• २० असोज २०८१, आइतबार

दुई सातापछि चाँगे-दोभान सडकमा यातायात चल्यो

blog

चाँगे-दोभान सडकखण्ड मर्मत तथा पुनर्निर्माण भएसँगै सुचारु भएको यातायात सेवा। तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १८ गते। ताप्लेजुङको पश्चिमी क्षेत्रअन्तर्गत चाँगे-दोभान सडकमा यातायात सुचारु भएको छ। वर्षासँगै गएको बाढीपहिरोका कारण गत असार ३ गतेदेखि अवरुद्ध बनेको सडक तथा मोटरेवल पुलको मर्मत कार्य सम्पन्न गरिएपछि आइतबारदेखि यातायात सुचारु भएको हो। 

गत असार २ गते शानिबार राति आएको बाढीपहिरोले सडक र मोटरेवल पुलमा क्षति पुर्‍याएपछि अवरुद्ध बनेको चाँगे-दोभान सडकखण्ड दुई सातापछि सञ्चालनमा आएको हो। आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिकाको सहजीकरणमा तमोर करिडोर (सुभाङखोला-दोभान-ओलाङ्चुङगोला) सडक योजना ताप्लेजुङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरेपछि यातायात सुचारु भएको हो। 

सडक योजनाका इन्जिनियर श्रवणकुमार मण्डलका अनुसार मौसममा केही सुधार आएसँगै अवरुद्ध सडकलाई खुलाउनका लागि क्षतिग्रस्त संरचनाको मर्मत कार्य सुरु गरिएको थियो। चाँगे-दोभान-फुङ्लिङ सडक खण्डअन्तर्गत मैवाखोलाको मोटरेवल पुलको बायाँतर्फ जग रहेको भागमा बाढीले क्षति गरेको थियो। क्षतिग्रस्त पुलको बायाँ जगतर्फ करिव २० मिटर भागमा जालीसहित वाल (गारो) लगाएर पुनर्निर्माण गरिएको इन्जिनियर मण्डलले जानकारी दिनुभयो। 

यस्तै पुलको दायाँ अर्थात चाँगेतर्फ करिव एक सय ३५ मिटर र बाँयातर्फ सान्थाक्रा-खाम्लुङमा पर्ने करिब एक सय ५० मिटर क्षतिग्रस्त सडकको पुनर्निर्माण गरिएको छ। इन्जिनियर मण्डलका अनुसार बाढीपहिरोले क्षति गरेको मैवाखोलाको मोटरेवल पुल र पुलको दायाँ-बायाँतर्फको सडक मर्मत तथा पुनर्निर्माण गरिएपछि आइतबारदेखि यातायात सुचारु भएको हो।

उक्त अवरुद्ध सडकखण्ड सुचारु भएसँगै सदरमुकाम फुङ्लिङसँग आठराई त्रिबेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाबीच विच्छेद भएको सडक सम्पर्क पुनः स्थापित भएको छ। अवरुद्ध सडक मर्मतपछि यातायात सञ्चालनमा आएकाले यात्रुलाई सहज भएको छ भने ढुवानीका साधनसमेत सुचारु भएका छन्। सो सडक अवरुद्ध हुँदा आठराई त्रिबेणी गाउँपालिकाका पाँचवटा र मैवाखोला गाउँपालिकाका छ गरी ११ वटा वडाका बासिन्दाले सास्ती खेप्दै आएका थिए।

त्यस क्षेत्रका सर्वसाधारणले यात्रा गर्न पाएका थिएनन् भने सदरमुकाम फुङ्लिङ, खाम्लुङको दोभान लगायतका बजारबाट हुने ढुवानी ठप्प भएको थियो। आवश्यकीय सामग्री ढुवानी गर्न नपाउँदा उपभोक्तालाई निक्कै हैरानी भएको थियो भने स्वास्थ्य संस्थासहित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय साथै अन्य निकायलेसमेत आवश्यक सामान ढुवानी गर्न नपाउँदा समस्या सृजना भएको थियो। 

अवरुद्ध सडक सञ्चालनमा आएपछि सदरमुकामसहित आन्तरिक सडकको पहुँच तथा आवश्यक गन्तव्यसम्म यात्रुले यात्रा गर्न पाएका छन्। त्यस्तै आयात तथा निर्यातजन्य वस्तु साथै सामग्री ढुवानी गर्न थालिएको छ। यता चाँगे-दोभान सडक खण्ड सञ्चालनमा आएसँगै मैवाखोला गाउँपालिकाभित्रका  सडकहरु पनि क्रमशः सञ्चालनमा आउन थालेका बताइएको छ।

असार २ गते राति गएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको मदनभण्डारी राजमार्गअन्तर्गत माङ्माया खोला सडकखण्ड, सुरबिरे-खार्तेलगायतका क्षतिग्रस्त सडकहरुको मर्मतपछि यातायात सुचारु भएका हुन्। मैवाखोला गाउँपालिकाको आफ्नै स्रोत र साधनको प्रयोग गरेर आन्तरिक सडकका अवरुद्ध पन्साउनुका साथै मर्मत गरेपछि यातायात सुचारु भएका पालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो। 

गाउँपालिकाका अनुसार पालिकाभित्रका मुख्य-मुख्य सडकको अवरुद्ध तत्काल हटाउने र क्षतिग्रस्त बनेका सडक संरचनाको मर्मत तथा पुनर्निर्माण गरेर यातायात सञ्चालनको पहल भइरहेको छ। मुख्य सडकहरु सञ्चालनमा आएपछि क्रमशः अन्य सडकहरुको पनि मर्मत तथा पुनर्निर्माणको कार्य गर्दै जाने गाउँपालिकाले जनाएको छ। आन्तरिक सडक सञ्जालको रुपमा रहेको चाँगे-दोभान सडक सञ्चालनमा आए पनि पाँचथरको हेँवाखोलाको पुल बाढीले बगाएर अवरुद्ध बनेको मेची राजमार्ग अझै पूर्णरुपमा सञ्चालनमा नआउँदा समस्या कायमै रहेको छ।