अमरराज नहर्की
तनहुँ, असार १८ गते । अस्पतालको लापबाहीले बिरामीको ज्यान गएको भन्दै रत्नहरी अस्पतालमा आइतबार लगाइएको ताला चार बुँदे सहमतिपछि खुलेको छ ।
बिरामीका आफन्त, स्थानीय, अस्पताल, जनप्रतिनिधिसँग जिल्ला प्रशासन कार्यालय तनहुँले गरेको छलफलबाट सहमति भएपछि सोमबार दिउँसो तीन बजे ताला खुलेको हो ।
व्यास नगरपालिकाभित्र रहेका सबै अस्पताल नेपाल सरकारले तय गरेका मापदण्ड अनुसार चलेका छन् कि छैनन् भन्ने विषयमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले सहकार्य गरेर असार १९ गतेदेखि नै अनुगमन गर्ने र असार २१ भित्र यथार्थ विवरण सार्वजनिक गर्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।
असार १६ गते रत्नहरि अस्पतालमा कमल शर्माको उपचार र पोखरा पठाइएकामा एवं मृत्यु भएको सन्दर्भ भएको उहाँले जानकारी दिनुभयो । उपचारमा लापरवाही भएकोले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले आइतबार अस्पतालको तालाबन्दी गरिदिएका थिए ।
डेंगीको सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकाको घर नक्सा शाखामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधन भएको थियो । व्यास नगरपालिका–१० दुम्सी निवासी ३५ वर्षीय शर्माको शनिबार राति ९ बजे पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
शर्मा बिरामी भएपछि असार १३ गते सो अस्पतालमा भर्ना हुनुभएको थियो । गम्भीर प्रकृतिको बिरामीलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर नगरी अस्पतालमै विभिन्न बहानामा राखिएको पीडित परिवारको आरोप छ । अस्पतालले समयमा नै रिफर गरिदिएको भए बिरामीको निधन नहुने र अस्पताल मापदण्ड अनुसार सञ्चालन भएको या नभएको बारे छानबिनको माग राखेर स्थानीयले अस्पतालको तालाबन्दी गरिदिएका थिए ।
बिरामीको स्वास्थ्यमा सुधार हुँदै गएकोमा एक्कासी बिरामीले पेट धेरै दुख्यो भनेपछि एम्बुलेस राखेर पोखरा लैजाने क्रममा निधन भएको अस्पतालका सञ्चालक ताराप्रसाद श्रेष्ठले बताउनुभयो ।
नगरपालिका सभाकक्षमा प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको अध्यक्षतामा शोक सभाको आयोजना गरी आधा दिन बिदा गरी स्वं. शर्माको एकमात्र छोराको पठन पाठनका लागि तीन लाख सहयोग गर्ने निर्णय भएको नगरपालिकलाले जनाएको छ ।
नगरपालिकाका अस्पतालले दिने सेवा र प्रयोगशालाका प्रति पटकपटक गुनासो आएको, नवीकरण, दर्ता नगरी स्वास्थ्य संस्था सञ्चालन गरिएको सम्बन्धमा पाँच दिनभित्र प्रभावकारी अनुगमन गर्ने र आवश्यक सुधारका लागि सम्बन्धित अस्पताललाई निर्देशन दिने, निर्देशन पालना नगरेमा कानुन बमोजिम कारबाही प्रकृया अघि बढाउने निर्णय गरिएको सम्बन्धित सबैमा अनुरोध गरिएको नगपालिकाको विज्ञप्तिमा जनाइएको छ ।