• १० जेठ २०८१, बिहिबार

उहिलेका शस्त्रास्त्र

blog

दुनियाँमा शस्त्रास्त्रको होडबाजी बढ्दो छ । पहिलो विश्व युद्ध (सन् १९१४–१९१८) तथा दोस्रो विश्व युद्ध (सन् १९३९–१९४५) को विभीषिकाबाट पनि चेत खुलेको छैन । कोरियाली युद्ध, भियतनाम युद्ध, इरान–इराक युद्ध, सिरियाली युद्ध, अफगान युद्ध आदिको ऐतिहासिक सिलसिलामा केही समययता रुस–युक्रेन युद्धले दुनियाँ तताएको छ । तत्कालै युद्ध थामिने छेकछन्द पनि छैन, बरु उल्टै परमाणु हतियार प्रयोग हुने आशङ्काले चासो र चिन्ता बढाएको छ ।

‘रुस–युक्रेन युद्ध’ थालिएयता अनेक प्रकारका हातहतियार चर्चामा छन् । दुई सय वटा ‘एफ–१६’ अमेरिकी लडाकु विमानले उत्साह उराल्ने अपेक्षा युक्रेनले राखेको विदितै छ । भनिन्छ ‘एफ–१६’ भन्दा शक्तिशाली अमेरिकी लडाकु विमान ‘एफ–३५’ र ‘एफए–१८’ हुन् । हातहतियारको संसारमा फ्रान्सको ‘राफेल’ लाई बेजोड मानिएको छ । प्रविधिका दृष्टिले स्विडेनको ‘ग्रिपेन’ पनि कम छैन । ‘फोन कार्बाइन’ आधुनिक राइफल, ‘एम–१’ अमेरिकी ट्याङ्क, जर्मनीको ‘लियोपार्ड–२’ ट्याङ्क आदि पनि चर्चित छन् । ब्यालेस्टिक मिसाइल (क्षेप्यास्त्र), क्रुज मिसाइल तथा लामो, मध्यम र छोटो दूरीका मिसाइल, मसिन कार्बाइन, तोप, गोलाबारी, ‘ड्रोन’, पिस्तोल, रिभल्बर, कारतुसी बन्दुक आदि हतियार त छँदै छन् ।

युद्धको कुरो चल्दा उहिलेका राम रावण युद्ध, कृष्ण कंश युद्ध, महाभारत युद्ध आदि पनि अविस्मरणीय छन् । तिनताक युद्धमा के कस्ता शस्त्र, अस्त्रको प्रयोग हुन्थ्यो होला ? जिज्ञासा हुनु अस्वाभाविक होइन । यस सम्बन्धमा प्राचीन संस्कृत साहित्य पल्टाउँदा भेटिएका जानकारी आश्चर्यजनक छन् ।

प्राचीन शस्त्रास्त्रमा धनुष वाण, भाला, तरबार, खड्ग, गदा, त्रिशूल, मुद्गर (मुङ्ग्रो) आदिका बयान त छँदै छन् । अहिलेको परमाणु हतियार जस्तो महाविध्वंसक हतियार उहिले ‘ब्रह्मशिरा’ रहेछ । सारा दुनियाँलाई खरानी पार्न सक्ने ‘ब्रह्मशिरा’ अस्त्रलाई तीनै लोकमा असाधारण ठह¥याइएको छ । मन र इन्द्रियलाई संयममा राखेर मात्र यो अस्त्र चलाउनुपर्ने आवश्यकता औँल्याउँदै गुरु द्रोणाचार्यले शिष्य अर्जुनप्रति राखेको भनाइ यतिखेर स्मरणीय बनेको छ ः

गृहाणेदं महाबाहो विशिष्टमतिदुर्धरम् ।

अस्त्रं ब्रह्मशिरो नाम सप्रयोग निवर्तनम् ।।

अर्थात् हे महाबाहो (अर्जुन) यो ब्रह्मशिरा नामक अस्त्रबारे म तिमीलाई प्रयोग र उपसंहार (समापन) सहित बताउँछु, यो सबै अस्त्रभन्दा ठूलो छ, यसलाई धारण गर्न पनि कठिन छ, तिमी यसलाई 

ग्रहण गर !

गुरु शुक्राचार्यको ‘शुक्रनीति’ मा शस्त्रास्त्रबारे यसरी परिचय गराइएको छ ः

अस्यते क्षिप्यते यत्तु मन्त्रयन्त्राग्निभिश्च तत् ।

अस्त्रं तदन्यतः शस्त्रमसिकुन्तादिकं च यत् ।।

अस्त्रं तु द्विविधं ज्ञेयं नालिकं मान्त्रिकं तथा ।

अर्थात् मन्त्र, यन्त्र र अग्निद्वारा फ्याँकिने (हतियार) लाई अस्त्र भन्छन् । यीबाहेक तरवार, भाला आदिलाई शस्त्र भन्दछन् र अस्त्र पनि दुई प्रकारका हुन्छन् ः नालिक (बन्दुक, तोप) र मान्त्रिक ।

शुक्रनीतिमा नालिकलाई बृहत् नालिक (तोप) र क्षुद्र वा लघु नालिक (बन्दुक) आधारमा दुईथरी जनाइएको छ । बारुदको गोला हान्ने बृहत् नालिक र जसको भित्रपट्टि अग्निचूर्ण (बारुद) भरिन्छ र त्यो भर्ने शलाका पनि सँगै हुन्छ, जुन बलियो हुन्छ, त्यसलाई लघु नालिक (बन्दुक) भनिएको छ ।

शुक्राचार्यको मतमा अभिमन्त्रित गरी छाडिएका ‘मान्त्रिकास्त्र’ (वाण आदि) द्वारा शत्रु नाश गरिने युद्ध सबै युद्धमा उत्तम हो ।

नालाग्निचूर्णसंयोगाल्लक्ष्ये गोलनिपातनम् ।

नालिकास्त्रेण तद्युद्धं महाह्रासकरं रिपो ः ।।

“जसमा तोप वा बन्दुकको नालमा अग्निचूर्ण (बारुद) भरेर अग्निद्वारा लक्ष्यस्थानमा गोला वा गोली हानिन्छ, यस्तो नालिकास्त्रद्वारा हुने युद्धलाई महाहानिकर भनिएको छ ।” नालिकास्त्रको अभाव हुँदा भाला आदिद्वारा गरिने युद्ध चाहिँ शस्त्रयुद्ध हो ।

यत्ति मात्र होइन शुक्रनीतिमा तोप गोला र गोली बनाउने, बारुद बनाउने प्रक्रिया पनि उल्लेख छ । चक्र, पाश, गदा, खड्ग, कुन्त (भाला) आदिका लक्षण जनाउँदै बाहुयुद्ध (मल्लयुद्ध) बारे पनि वर्णन गरिएको छ । शत्रुका सन्धिस्थान तथा मर्मस्थानलाई कुशलतापूर्वक पीडित तुल्याई उल्टोपाल्टो पारी बाहुद्वारा अँठ्याएर आघात पु¥याउनु ‘बाहुयुद्ध’ हो भनी शुक्राचार्यले यसका आठ भेद गरेका छन् ।

पद्मपुराण, हरिवंश पुराण आदिमा ‘शतघ्नी’ (तोप) शब्द भेटिन्छ । शब्दकोष अनुसार ढुङ्गामा फलामका किला गाडेर बनाइएको, एकै पटकमा सय जना मार्न सक्ने ठूलो अस्त्र (तोप) ‘शतघ्नी’ हो । रावणले वरुणका सेनासित युद्ध हुँदा यसको प्रयोग गरेका थिए भने राजा दशरथको गढीलाई ‘शतघ्नी शतसंकुला’ अर्थात् सयौँ तोपयुक्त भनिएको अर्को उदाहरण पनि रहेको छ ।

उतिबेलै फलामका गोला, गोली हान्ने यन्त्र (तोप, बन्दुक आदि) चल्तीमा रहनु आश्चर्यको विषय बनेको छ । यसबारे ‘महाभारत’ को सभापर्वमा रहेको युद्धसम्बन्धी एक अंश यतिखेर मननीय छ ः

अथ कणपचक्राश्मभुशुण्ड्युद्यतबाहवः ।

कृष्णपार्थौ जिघांसन्तः क्रोध सम्मूर्छितौजसः ।।

अर्थात् कसैका हातमा फलामका गोली हान्ने यन्त्र (तोप, बन्दुक आदि) थिए र कतिपयले हातमा चक्र, ढुङ्गा र भुसुण्डी (राइफल बन्दुक) बोकेका थिए ।

पारिभाषिक शब्दका रूपमा ‘यन्त्र’ ले विशेष अर्थ वहन गरेको छ । भनिन्छ फलामबाट बनेको ‘मेसिन’, जसद्वारा बारुदको बलले सिसा, कांस र ढुङ्गाका गोली हानिन्छ, त्यसलाई यन्त्र भन्दछन् । यन्त्र सञ्चालनसम्बन्धी जानकारी दिने ‘यन्त्रसूत्र’ समेत छ । यस आधारमा हेर्दा उतिखेर फलाम, कांस र सिसाका हतियार मात्रै होइन बारुदको प्रयोग पनि रहेको प्रस्ट हुन्छ ।

भगवान् शिवको धनुष ‘पिनाक’ र भगवान् विष्णुको धनुष शाङ्र्ग (शारङ्ग) त कहलिएकै छन् । यी शक्तिशाली धनुष शिल्पकार विश्वामित्रले बनाएका हुन् । शिवका अन्य प्रख्यात हतियारमा माहेश्वरास्त्र, पाशुपतास्त्र, भवरेन्दु (चक्र), त्रिशूल आदि छन् । विष्णुका हतियारमा सुदर्शन चक्र, नारायणास्त्र, वैष्णवास्त्र, कौमोदकी आदि पर्छन् । चतुर्मुखी ब्रह्माको हतियार ब्रह्मास्त्र अति प्रसिद्ध छ । भगवतीका हातहतियारमा दिव्यास्त्र, चक्र, धनुष, वाण, वज्र, गदा, दण्ड, त्रिशूल, बन्चरो, तरवार, भाला, आदि रहेका छन् । ‘अनेकशस्त्रहस्ता च अनेकास्त्रस्य धारिणी’ पद्यांशले पनि भगवती विविध आयुध सम्पन्न रहेको बुझ्न मद्दत गरेको छ ।

महाप्रलय गराउन सक्ने अस्त्रमा ब्रह्मास्त्र, नारायणास्त्र, पाशुपतास्त्र, वज्र, सुदर्शन चक्र आदिको नाम लिइन्छ ।

रामायण काल तथा महाभारत कालमा प्रयोग भएको ब्रह्मास्त्र अहिलेको परमाणु हतियारसरह महासंहारक ठानिन्छ । विश्वकै आदिकवि मानिने वाल्मीकिको २४ हजार श्लोकको ‘रामायण’ तथा वेदव्यासको एक लाख श्लोकी ‘महाभारत’ काव्यमा हातहतियारबारे धेरै वर्णन पाइन्छ । श्रीमददेवीभागवत लगायत विभिन्न पुराणादि ग्रन्थमा पनि शस्त्रास्त्रबारे बयान गरिएको छ । नेपालका भूमिपुत्रद्वय वाल्मीकि तथा वेदव्यासका शस्त्रास्त्रसम्बन्धी विवरणमाथि यहाँ छोटकरी रूपमा प्रकाश पार्ने जमर्को गरिएको छ ।

वाल्मीकिको रामायणमा विश्वामित्र ऋषिलाई सम्पूर्ण शस्त्र, अस्त्रका सर्वज्ञ मानिएको छ । शस्त्र, अस्त्रको आविष्कारमा पौराणिक नारीको देन पनि कम्ताको छैन । दक्ष प्रजापतिका दुई कन्या जया र सुप्रभाले यस क्षेत्रमा कीर्तिमान हासिल गरेका छन् । जया र सुप्रभाले पाँच, पाँच सय हतियार आविष्कार गरेको वर्णन रामायणमा छ । ती हतियारबारे विश्वामित्र जानकार रहनुका साथै अन्य नयाँ हतियार आविष्कार गर्नसमेत उनी सक्षम थिए ।

उनै विश्वामित्र ऋषिले त्रेतायुगमा श्रीरामलाई विभिन्न शस्त्र, अस्त्र प्रदान गरी तिनलाई चलाउने विधिबारे समेत अवगत गराए । विश्वामित्रले श्रीरामलाई महादिव्य दण्डचक्र, धर्मचक्र, कालचक्र, विष्णुचक्र, अति तीक्ष्ण ऐन्द्रास्त्र, वज्रास्त्र, महादेवास्त्र, ब्रह्मशिर, ऐषिक, ब्रह्मास्त्र, पैनाकास्त्र, नारायणास्त्र, आग्नेयास्त्र, वायव्यास्त्र आदि अनेक शस्त्रास्त्र प्रदान गरी अस्त्र चलाउने मन्त्र पनि दिए ।

श्रीरामले मारिचको छातीमा परमास्त्र प्रहार गर्दा सय योजन पर समुद्रमा ऊ मूच्र्छित हुन पुगेको कथा पनि छ । मनुनिर्मित ‘शीतेषु अस्त्र’ प्रहार गरिँदा मारिच मूच्र्छित भएको तर नमरेको जानकारी श्रीरामले लक्ष्मणलाई दिएका थिए । यसैगरी श्रीरामले सुबाहुको छातीमा ‘आग्नेयास्त्र’ प्रहार गर्दा ऊ ठहरै भएको बयान पनि छ । उतिबेला मार्ने वा मूच्र्छित मात्र तुल्याउने उद्देश्यले फरक फरक अस्त्र प्रयोग हुने गरेको रहस्य यी प्रसङ्गले उद्घाटन गरेका छन् । यसबाहेक शत्रुमाथि घात गरी पुनः फर्किएर आउने अस्त्रसमेत रहनुलाई अनौठै मान्नुपर्छ ।

विश्वामित्र र वशिष्ठ ऋषिबीच भएको युद्ध पनि कौतुहलप्रद छ । वशिष्ठले आफ्नो ब्रह्मदण्डद्वारा विश्वामित्रको भयङ्कर ‘आग्नेयास्त्र’ लाई निस्तेज तुल्याइदिए । त्यसपछि अति क्रुद्ध विश्वामित्रले वशिष्ठमाथि वरुण, रौद्र, ऐन्द्र, पाशुपत, ऐषिक  आदि विभिन्न अस्त्र प्रहार गरे । अचम्मको कुरो वशिष्ठ ऋषिले आफ्नो ‘ब्रह्मदण्ड’ द्वारा ती सबैलाई निस्तेज तुल्याइदिए । झन् क्रोधित हुँदै विश्वामित्र ऋषिले ‘ब्रह्मास्त्र’ उठाउँदा कोलाहल मच्चियो तर ‘ब्रह्मदण्ड’ सामु ‘ब्रह्मास्त्र’ पनि फिक्का प¥यो ।

श्रीमद्देवी भागवतमा भगवतीलाई अति शक्तिसम्पन्न तुल्याउन विभिन्न देवताले धेरै प्रकारका आयुध (शस्त्रास्त्र) दिएको वर्णन छ । यस अनुसार विष्णुले चक्र, शिवले त्रिशूल, अग्निदेवले तीव्रगामी शक्ति, पवनदेवले धनुष, इन्द्रले वज्र, कालदेवले खड्ग तथा कवच, विश्वकर्माले धारिलो बन्चरो र त्वष्टाले गदा दिएका थिए ।

‘धनुष’ त परम्परागत सर्वप्रिय हतियार नै भयो ।  चार उपवेदमध्ये एक ‘धनुर्वेद’ हुनुले पनि यसको उपादेयता र महìव उजागर गरेको छ । अन्य उपवेदमा आयुर्वेद, गान्धर्ववेद र अर्थशास्त्र रहेका छन् । यजुर्वेदको उपवेदका रूपमा रहेको ‘धनुर्वेद’ लाई धनुर्विद्या तथा सैन्य विज्ञानको द्योतक मानिएको छ । महाभारत अनुसार धनुर्वेदका चार भाग छन् ः मन्त्रमुक्त, पाणिमुक्त, मुक्तामुक्त र अमुक्त ।

जसको मन्त्रद्वारा केवल प्रयोग हुन्छ, उपसंहार (समेट्ने काम) हुँदैन, त्यो ‘मन्त्रमुक्त’ हो । जसलाई हातमा लिएर धनुषद्वारा छाडिने वाण आदि पाणिमुक्त कहलाउँछ । जसको प्रयोग र उपसंहार दुवै हुन्छ, त्यो मुक्तामुक्त हो र जो वस्तुतः छाडिँदैन, मन्त्रद्वारा साधित (ध्वजा आदि) छ, जसलाई देख्नासाथ शत्रु भाग्दछ, त्यसलाई अमुक्त भनिन्छ ।

त्रेताकालीन शिवधनुषको कथा नसुन्ने बिरलै होलान् । त्यो विशाल शिवधनुष जमानादेखि फलामे पेटीमा थियो । धनुष राखिएको आठपाङ्ग्रे पेटीलाई पाँच हजार जवानले कठिनाइसाथ त्यहाँ पु¥याएका थिए । धनुष हेरी श्रीरामले हातमा उचालेका मात्र के थिए सब हे¥याहे¥यै’ भए, ताँदो तान्नासाथ धनुष दुई टुक्रा भइहाल्यो । वाल्मीकि लेख्छन्, त्यस बखत धर्ती कम्पन भई ठूलाठूला पहाडसमेत फाटिए ।

महाभारतकालमा अर्जुनको धनुष ‘गाण्डिव’ थियो । त्यहीँ एकलव्य पनि बिर्सनै नसकिने पात्र हुन् । उनले वाण बर्साएर कुकुरको भुकाइ मात्रै रोकेको देख्दा गुरु द्रौणाचार्य अचम्मित भए । यस्तै त्यस बखत अपराधीलाई मात्रै प्रहार गर्ने वाण पनि रहनुलाई रहस्यकै पाटो मान्नुपर्छ ।

त्यतिबेला ‘गदा’ को पनि ठूलो महìव थियो । गदायुद्धका अनेक बयान पुराणमा पाइन्छन् । गदायुद्धमा प्रक्षेप, विक्षेप, परिक्षेप र अभिक्षेपको महìव छ । शत्रुमाथि गदा फ्याँक्ने प्रक्षेप, नजिकको शत्रुलाई गदाको कोटि (सिरा)ले हान्ने विक्षेप, शत्रु धेरै हुँदा गदा घुमाएर हान्ने परिक्षेप र गदाको अघिल्लो भागले हान्ने अभिक्षेप गदायुद्धका कौशल हुन् ।

वैदिक साहित्यमा पनि शस्त्रास्त्रका अनेक प्रसङ्ग छन् । ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदमा रहेका शस्त्रास्त्रसम्बन्धी वर्णन आफैँमा उदेकलाग्दा छन् । सूत्रात्मक रूपमा रहेका वैदिक सूक्तले दर्शाएका शस्त्रास्त्रसम्बन्धी वर्णन आजका ठूला मानिने वैज्ञानिकलाई समेत तीन छक पार्ने खालका छन् ।

वेदमा दिव्यास्त्र, अग्निवाण (आग्नेयास्त्र), वायव्यास्त्र (मारुतास्त्र), ब्रह्मास्त्र, पाशुपतास्त्र (रुद्रास्त्र), वारुणास्त्र (वरुण पाश), सम्मोहनास्त्र, तामसास्त्र, ऐन्द्रास्त्र, उल्का (अग्नि गोला), पर्जन्यास्त्र, ऋष्टि र रम्भिणी (एकथरी भाला), असि (एकथरी तरवार), वाशी (एकथरी छुरी), क्षुर (एक प्रकारको चक्कु), शूल (पातलो, तीखो, घोच्ने हतियार), अश्मा (ढुङ्गा), दण्ड (लट्ठी) आदि शस्त्रास्त्र उल्लिखित छन् । हेति, प्रहेति र मेनीलाई घातक अस्त्र मानिएको छ । शत्रुपक्षमा धुवाँ फैलाई सासै फेर्न गाह्रो बनाउने ‘तामसास्त्र’ लाई आधुनिक विद्वान्ले ‘अश्रुग्यास’ सित तुलना गरेको पाइन्छ भने ‘सम्मोहनास्त्र’ लाई पनि विषालु अस्त्र भनिएको छ । यिनै आधारमा उतिखेर रासायनिक युद्धको स्वरूप रहेको आकलन गरिएको छ ।

जे होस् प्राचीन संस्कृत साहित्यमा यस्ता अनेक पाटा छन्, जसले शस्त्रास्त्रकै सम्बन्धमा पनि पूर्वीय जगत् उच्च स्थानमा रहेको गौरवमय अनुभूति जगाउँछन् । यतातिर अध्ययन, अनुसन्धानको प्रवृत्ति जगाउन सके देश, दुनियाकै लागि अनुपम वरदानसिद्ध हुन्थ्यो ।