• २२ साउन २०८२, बिहिबार

उत्तराखण्डमा बाढीपहिरो : बर्दियाका चार जना बेपत्ता

blog

छोरा बुहारी र नाति बेपत्ता भएपछि विक्षिप्त बनेका बुवा चूडामणि खड्कासहित स्थानीयहरू । तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी
बबई (बर्दिया) साउन २२ गते ।
भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको वाकुडामा पर्ने बिनु नदीमा बुधबार बिहान आएको बाढीपहिरोका कारण बर्दियाको एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा मधुवन नगरपालिका– ६ का करिब ४० वर्षका नरेन्द्र खड्का, उहाँकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा नम्बर ५ बस्ने अमृता परियार छन् ।

कामको सिलसिलामा उत्तराखण्ड पुगेका उनीहरूलाई बुधबार बिहान आएको बाढीपहिरोले बगाएको उत्तराखण्डस्थित वाकुडामा कार्यरत चित्रबहादुर पौडेलले बताउनुभयो । पौडेलले अहिले बेपत्ताको खोजीमा आफूहरूसहित भारतीय प्रहरी र स्थानीय लागेको जानकारी दिनुभयो । खड्कासहित गाउँका अन्य व्यक्तिहरु उत्तराखण्डमा सडकको काम गर्न पुगेको स्थानीयहरुले बताएका छन् ।

यता घरमा रहेका नरेन्द्रका बुवा चूडामणि खड्काले छिमेकीले आफ्नो छोरा बुहारी र नातिलाई पहिरोले बगाएको भन्ने थाहा पाएका कारण आफू छोराको खोजीका लागि उत्तराखण्ड जान लागेको बताउनुभयो । बुधबार आएको बाढीपहिरोले बगाउँदा खड्का परिवार बेपत्ता भएको भए पनि खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । वाकुडामा मधुवन नगरपालिकासहित बर्दिया जिल्लाका करिब ४५ जना श्रमिकहरु कार्यरत रहेको बुझिएको छ ।