• २२ साउन २०८२, बिहिबार

पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

blog

नवलपरासी,  साउन २२ गते ।  लामो समय वर्षा नभएर खडेरीका कारण सुख्खा भएका धानबाली पानी पारेपछि हरियो भएका छन् । पछिल्लो केही दिनयता पानी पर्न थालेपछि रोपाइँपछि सिँचाइ अभावले सुख्खा भएका धानबाली झाँगिन थालेका हुन् ।

बर्दघाट सुस्तापश्चिम नवलपरासीमा लामो समयदेखि वर्षा नभएर खडेरी लागेका धान वर्षा भएपछि हरियो भएसँगै डाँठ पनि बढिरहेको पाल्हीनन्दन गाउँपालिका–४ रामसिंह कुर्मीले बताउनुभयो । रोपाइँ भएदेखि प्रयाप्त वर्षा नभएर जमिनका साथै धानखेती सुक्न थालेको थियो । “रोपिएको धानमा सिँचाइको अभावले गाह्रा फाट्ने, रोपो सुक्ने, गावा कुइनलगायत समस्याले किसान चिन्तित थिए । अहिले पानी परेपछि केही राहत भएको छ”, उहाँले भन्नुभयो । 

वर्षा नहुँदा जमिन सुख्खा भएर रोपिएको धानको डाँठ नबड्ने र पहेँलो भएर गावा मर्नुुका साथै विभिन्न रोगको समस्या देखिन थालिएको किसान चुल्हाई यादवले बताउनुभयो । तीन दिनको लगातार वर्षा भएपछि धानका लागि अमृत जस्तै काम गरेको भन्दै उहाँले धान पानीबाट हुने फसल भएकाले प्रयाप्त सिँचाइको व्यवस्था हुन जरुरी रहेकामा जोड दिनुभयो ।

खेतमा बराबर पानी रहिरह्यो भने धानबालीमा रोग नलग्ने तथा उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी उमाशङ्कर पौडेलले बताउनुभयो । “सिँचाइ भइरहे खेत ओसिलो भइरहन्छ । धान काटेपछि कात्तिकमा खेत जोत्न सजिलो हुन्छ, खेतमा बिउ छर्दा छिटो सम्भावना बढी हुन्छ”, उहाँले भन्नुभयो । 

तीन दिनको वर्षापछि यहाँका धानबालीमा हरियाली देखिन थालेको सूचना अधिकारी पौडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा २० हजार ४८० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । रासस