गुणबहादुर रोका
सुलीकोट, साउन २२ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित नाकी खोला र लार खुन्ग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ । बुधबारदेखि परेको भिषण वर्षाले तिब्बती क्षेत्रमा रहेको चुमनुब्रीको–७ छेकम्पारको लार गाउँ र फुर्पे गाउँ भएर बग्ने खुन्ग्यु खोलाको दुई वटा पुल बाढीले बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठे पुलको बाटो भएर छेकाम्पारको लामा गाउँ, राखेन गुम्बा गाउँ, लार्के गाउँ र छुर्पे गाउँ जाने मुख्य बाटोको काठे पुल बगाउँदा त्यस गाउँका ७०० जना जनसङ्ख्यालाई प्रत्यक्ष प्रभाव पारेको उहाँले बताउनुभयो ।
सोहि ठाउँमा रहेको चुमनुब्री–७ खुन्यु खोलामा आएको बाढीले पुल बगाएपछि स्थानीयलाई वारपार गर्न समस्या भएको छ, पालिका अध्यक्ष लामाले भन्नुभयो, ‘पुल नै खोलाले बगाएपछि राजेन गुम्बा र बुद्ध आधारतभूत विद्यालयका विद्यार्थीहरु विद्यालय जान नपाएर समस्यामा परेका छन् ।’
निरन्तर वर्षासँगै ठाडो खोला भएर बग्ने खन्यु खोलामा स्थानीयको सहयोगमा एक महिलालाई जानै पर्ने बाध्यता भएका कारण लामो प्रयास पछि डोरीले बाँधेर खोला तारिएको चुमनुब्री गाउँपालिका – ७ का वडा अध्यक्ष टाँसी लामाले बताउनुभयो ।
अहिले गाउँपालिकाको विपत् कोषबाट काम चलाउनको लागि तत्कालका लागि काठे पुल निर्माण गरी स्थानीय नागरिकहरुलाई सहज यात्रा गराउन गाउँपालिकाले वडा अध्यक्षसँग समन्वय गरी काठे पुल बनाउन लागिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो ।
चुमनुब्री गाउँपालिकामा दुई दिनदेखि परेको वर्षाले सबैभन्दा छेकम्पारलाई बढी असर गरेको छ । सो क्षेत्र बाढीको जोखियुक्त क्षेत्र भएकाले पनि गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय गोरखामार्फत ४ वर्ष अगाडि सर्बे भए तापनि अहिलेसम्म कुनै बजेट विनियोजन नभएको अध्यक्ष लामाले गुनासो गर्नुभयो ।
उत्तरी गोरखामा निरन्तर वर्षा भइरहेकाले थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र गाउँपालिकाले चुमनुब्रीवासीलाई सचेतना गराउने काम गरिरहेको छ । साथै गाउँपालिकाभित्र जोखिम बढी हुने भएकाले सचेत रहन गाउँपालिकाले बिहीवार सूचना जारी गरेको छ ।