रेखीराम राना
पाल्पा, असार १७ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विपन्न नागरिकलाई स्वरोजगार बनाई आम्दानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पाद्वारा आइतबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले सो कुरामा जोड दिनुभएको हो ।
कमजोर वर्गलाई आय–आर्जनमा जोडेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उहाँको छ । मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘जसको आयस्तर कमजोर छ, ती वर्गलाई रोजगारमा जोड्न जरुरी छ । उनीहरूको आम्दानी बढ्यो भने मात्र वास्तविक रुपमा समृद्धि आउँछ । त्यसैले प्रदेश सरकारले रोजगार दिने संस्था र व्यक्तिलाई सहयोग गर्नेगरी कार्यक्रम र बजेट बनाएको छ ।’
प्रदेश सरकारको विषयमा प्रश्न उठिरहेको सन्दर्भमा मुख्यमन्त्री चौधरीले प्रश्न उठ्नु स्वाभाविक भए पनि पछिल्लो समय धेरै नागरिकले प्रदेश सरकारको आवश्यकता महसुस गरेको बताउनुभयो । बजेट निर्माण र कार्यान्वयनको अवस्था हेर्दा हरेक नागरिकलाई छुनेगरी प्रदेश सरकारले बजेट ल्याएको उहाँले दावी गर्नुभयो ।
आगामी दिनमा बजेट निर्माण गर्दा पर्याप्त छलफल र नीति र आवश्यकताका आधारमा योजना छनाेट गरिने उहाँले बताउनुभयो । विगतमाझैँ यो वर्ष पनि बजेट ल्याउने क्रममा हतार भयो उहाँले भन्नुभयो, “आगामी दिनमा बैशाखभित्रै बजेट ल्याउने र पछि पास गर्ने व्यवस्था गरिनेछ ।”
बजेट हजारमा ल्याउँदा कहीँकतै बढी बजेट र साना र टुक्रे योजना पनि परेको उहाँको भनाइ छ । उहाँले कतिपय सङ्घीय सरकारका योजना ५०–६० हजारका पनि भएकाले त्यस्ता विकृति हटाउन सङ्घीय सरकारसँग छलफल भइरहेको बताउनुभयो ।
पाल्पाको पर्यटन विकास तथा भौतिक पूर्वाधारको विकासलाई र जिल्लाको करुवा र ढाकाको प्रवर्धनलाई प्रदेश सरकारले विशेष ध्यान दिएको उहाँले बताउनुभयो । उहाँले लुम्बिनीसम्म आएका पर्यटकलाई पाल्पामा पनि आकर्षित गर्ने योजनामा प्रदेश सरकारले ध्यान दिएको बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले पत्रकारको क्षमता विकास, सामाजिक सुरक्षा तथा प्रदेशभित्र रहेका सञ्चार संस्थाको विकासका लागि सरकारले ध्यान दिएको उल्लेख गर्नुभयो । प्रदेश सरकारले गरेका कामको यथार्थ समाचार बाहिर ल्याउन पत्रकारलाई उहाँले आग्रह गर्नुभयो ।