• १२ मंसिर २०८१, बुधबार

लगातारको वर्षासँगै रोपाइँको चटारो

blog

धान दिवसका अवसरमा बैतडीको पाटनमा रोपाइँ ।तस्बिर : गोकर्ण दयाल

धनगढी समाचारदाता

धनगढी, असार १७ गते । सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षेत्रफलमा धान खेती हुने कैलाली जिल्लामा हालसम्म न्यून मात्रामा रोपाइँ भएको छ । मनसुन ढिलो गरी सक्रिय हुनका साथै सिँचाइ असुविधाका कारण मध्य असारसम्म थोरै रोपाइँ भएको जनाइएको छ । 

असार १५ अर्थात् राष्ट्रिय धान तथा रोपाइँ दिवसको दिनसम्म जम्मा ३० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रराज शर्माले बताउनुभयो । गत वर्ष यही बेलासम्म आधाजति रोपाइँ भइसकेको थियो तर यो वर्ष मनसुन ढिला सुरु हुँदा रोपाइँ ढिलो गरी नै सुरु गरेको किसान बताउँछन् । 

यहाँ अझै पनि पर्याप्त मात्रामा नियमित पानी नपर्दा किसानहरू बोरिङको भरमा रोपाइँ गर्न बाध्य छन् । “रोपाइँ कम भए पनि ढिलो भने भइसकेको छैन,” कृषि ज्ञान केन्द्र प्रमुख शर्माले भन्नुभयो, “अझै समय छ । यो महिनाभरि नै रोपाइँ गर्न सकिन्छ ।”

सो केन्द्रका अनुसार बाढीले प्रभावित हुने क्षेत्रका कतिपय किसानले यस वर्षको रोपाइँ सकिसकेका छन् तर बोरिङ र आकाशे पानीको भरमा रोपाइँ गर्ने क्षेत्रमा भरखर सुरु गरिएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने चुरे र मोहन्याल गाउँपालिकाका किसानले आकाशे पानीको भरमा मात्रै रोपाइँ गर्दै आएका छन् । 

यस जिल्लामा हालसम्म सबैभन्दा बढी रोपाइँ कैलारी गाउँपालिका र भजनी नगरपालिकामा भएको जनाइएको छ । जोशीपुर, जानकी, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकामा पनि अन्य क्षेत्रको तुलनामा बढी रोपाइँ भएको छ । 

त्यस्तै गौरीगङ्गा, गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा भने थोरै मात्रामा रोपाइँ भएको जनाइएको छ । ढिलो पानी परेका कारण यो वर्ष रोपाइँ गर्न ढिलो भएको धनगढी उपमहानगरपालिका–९, बङ्गरा गाउँका कृषक बुद्धिसागर चौधरीले बताउनुभयो । उहाँले गत वर्ष यो बेलासम्म रोपाइँ सकेको जनाउँदै यसपालि अझै आधा बाँकी रहेको उल्लेख गर्नुभयो । “एक बिघा जमिनमा खेती गर्दै आएको छु,” उहाँले भन्नुभयो, “गत वर्ष यति बेला सकिएको थियो । यो वर्ष अझै आधा बाँकी छ ।”

कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिन रहेको कैलालीमा ६९ हजार हेक्टर जमिनमा बर्खे धानखेती गर्ने गरिएको छ । यहाँ ५३ प्रतिशत अर्थात् ४८ हजार सात सय हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा छ । २७ हजार तीन सय हेक्टर जमिनमा भने मौसमी सिँचाइ सुविधा रहेको जनाइएको छ । 

मौसमी सिँचाइ सुविधा रहेका किसानले बोरिङ र आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन् । किसानको हौसला बढाउन असार १५ गते हरेक वर्ष राष्ट्रिय धान एवं रोपाइँ दिवस मनाउँदै आए पनि किसानमा भने नैराश्यता छ । 

सिँचाइ सुविधाको अभाव झेल्दै आएका किसानका लागि रासायनिक मल पाउनु ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै भएको बताइन्छ । यहाँ मलको चरम अभाव देखिएको छ । मल नपाउँदा कतिपय किसानले डिएपी मलबिना नै धान रोपेका छन् । पर्याप्त मात्रामा मल नपाएपछि किसानहरू समस्यामा परेको धनगढी उपमहानगरपालिका–१०, घुइयाघाटका कृषक रामपाल रानाले बताउनुभयो । “यहाँ मल नपाउँदा भारतबाट लुकिछिपी मल ल्याएर हाल्न बाध्य छौँ,” उहाँले भन्नुभयो । 

कृषि यन्त्रको प्रयोग बढ्दै

सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी जिल्लाहरूमा परम्परागत हलोको प्रयोग पूर्णरूपमा नरोकिए पनि कृषि कार्यमा आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग बढ्दै गइरहेको छ । किसानले खेत जोत्नदेखि रोपाइँ गर्न, खेत सम्याउनलगायत काममा यन्त्र तथा उपकरण प्रयोग गर्ने गरेका छन् । 

पछिल्लो समय कामदार पनि नपाइने भएकाले आधुनिक प्रविधि तथा यन्त्रको प्रयोग बढ्न थालेको हो । खनजोत गर्नेदेखि बाली काट्ने, भित्र्याउने कार्यमा आधुनिक कृषि यन्त्रको प्रयोग भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताउनुभयो ।