अविनाश चौधरी
धनगढी, असार १६ गते । सुदूरपश्चिम प्रदेशका प्रतिभावान युवालाई नगद पुरस्कारसहित युवा प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको छ । खोज, अनुसन्धान तथा नवप्रवर्तनमा योगदान दिएका युवालाई प्रदेश युवा परिषदले शनिबार सम्मानित गरेको हो ।
सम्मानित हुनेमा संरक्षणकर्मी हिरुलाल डङ्गौरासहितका युवाहरु रहनुभएको छ । अढाई दशकदेखि संरक्षणमा क्रियाशील कैलालीका डङ्गौरालाई चरा संरक्षण र खोजमा योगदान दिएको कदर गर्दै युवा प्रतिभा सम्मान प्रदान गरिएको छ ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले उहाँलाई सम्मानपत्रसहित नगद हस्तान्तरण गर्नुभयो । डङ्गौराले दुर्लभ गिद्ध, सुनौलो तोप चरा, खरमुजुरलगायतका चराको अनुगमन, अनुसन्धान गर्दै आउनुभएको छ ।
यसैगरी, परिषद्ले अछामवासी पत्रकार मेनुका ढुङ्गानालाई पनि युवा प्रतिभा सम्मान प्रदान गरेको छ । पत्रकारितामार्फत दूरदराजका मुद्दा उजागर गरेको कदरस्वरुप उहाँलाई सम्मानित गरिएको हो ।
त्यस्तै, दार्चुलावासी फोटोग्राफर हिमालय भट्ट, कैलालीवासी खेलाडी आनन्द कामी, नवप्रवर्तनको क्षेत्रमा काम गर्ने डोटीका दीपेन्द्र जोशी पनि युवा प्रतिभा सम्मानबाट सम्मानित हुनुभएको छ ।
त्यस्तै, सुशासन प्रवद्र्धनको क्षेत्रमा काम गर्दैआएको संस्था वास नेपाल कैलाली शाखालाई पनि सम्मान प्रदान गरिएको छ । सम्मानित हुनेहरुलाई राष्ट्रिय युवा परिषद्का कार्यकारी बस्नेतले सम्मानपत्रसहित नगद हस्तान्तरण गर्नुभयो । सम्मानित सबैलाई जनही २६ हजार २६० रुपियाँ पुरस्कार प्रदान गरिएको छ ।