• १४ पुस २०८१, आइतबार

घरेलु उद्योग प्रवर्द्धनमा प्रदेश सरकार अगाडि बढ्नुपर्छ : मन्त्री यादव

blog

अतिथिको साथमा कार्यक्रममा सहभागी । तस्बिर : धर्वेन्द्र झा

धर्वेन्द्र झा 

धनुषा, असार १६ गते। मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले घरेलु उद्योगको प्रवर्द्धनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ कामकाजलाई अगाडि बढाएको बताउनुभएको छ। 

नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले असार १२ गतेदेखि १६ गतेसम्म मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो। 

अन्तर्राष्ट्रिय माग बमोजिमको तुलनात्मक लाभ एवं प्रतिस्पर्धी क्षमता भएका निकासी योग्य वस्तुको क्षमता अभिवृद्धि गर्ने ब्रान्डिङ, प्रशोधन, प्याकेजिङ एवम् गुणस्तर नियन्त्रण सम्बन्धी तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

घरेलु उद्योगले रोजगारी सिर्जना गर्नुको साथसाथै देशको अर्थतन्त्रमा समेत योगदान दिने गरेका कारण प्रदेश सरकारले प्राथमिकता राखेर अगामी दिनमा यसको प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्ने मन्त्री यादवले बताउनुभयो।  उहाँले मिथिला क्षेत्रमा महिलाले कृषि उपजका वस्तुबाट तयार गर्ने अदौरी, मुरौरी, तिलौरी, चरौरी, अइरकोंच, अमोट जस्ता खाद्य परिकारको नेपालसहित विदेशमा पनि त्यतिकै माग रहेको बताउनुभयो। 

घरेलु स्तरमै तयार पार्ने यी परिकारको गुणस्तर मापन गरेर प्याकेजिङ्गसहित ब्राण्ड बनाएर बिक्री वितरण गरेमा स्थानी स्तरमा रोजगारीको सिर्जना हुने र यसले देश र प्रदेशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ। 

स्थानीय उत्पादनका यी वस्तुको अन्तर्राष्ट्रिय बजारमा पहुँचका लागि वातावरण तयार हुनु पर्ने भन्दै मन्त्री यादवले तीनवटै तहका सरकारले  यस विषयमा मिलेर काम गर्नुपर्ने बताउनुभयो।

उहाँले आत्म निर्भरताका लागि राज्यले ग्रामीण महिलालाई स्थानीय उत्पादनका परिकारको प्रवर्द्धनका लागि यस प्रकारको तालिम दिनु सकारात्मक रहेको भन्दै तालिममा सिकेका विषयवस्तुलाई व्यवहारमा लागु गरी आफ्नो क्षमतालाई अझै उचाइमा पुर्‍याउनका लागि सहभागी महिलालाई आग्रह गर्नुभयो। 

कार्यक्रममा कृषि विज्ञ रामनाथ झाले ग्रामीण क्षेत्रका महिलाले तयार पार्ने विभिन्न प्रकारको खाद्य परिकार स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो रहेको भन्दै बजारीकरणको अभावमा यी परिकार लोप हुन लागेको बताउनुभयो। मन्त्रालयले यस क्षेत्रका २५ जना महिलालाई तालिम दिएको छ।