• १२ साउन २०८१, शनिबार

भारतीय मोटरसाइकल : न भन्सार, न कागजात

blog

सर्लाही समाचारदाता

सर्लाही, असार १६ गते । सर्लाहीसहित मधेशका जिल्लामा नेपाली नम्बर प्लेटको तुलनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल बढी सञ्चालन भइरहेका छन्। 

यहाँका जिल्ला सदरमुकाममै अत्यधिक रूपमा भारतीय मोटरसाइकल प्रयोग हुने गरेको छ। सीमावर्ती क्षेत्रका हाटबजार र गाउँमा नेपाली नम्बर प्लेटका मोटरसाइकल देख्नै मुस्किल पर्छ। तराईमा भारतीय सवारीको बढ्दो प्रयोगले राजस्व सङ्कलनमा कमी मात्रै आएको छैन। 

ती मोटरसाइकलका कागजात नै नहुने र धनीको कुनै पनि निकायमा अभिलेखसमेत नहुँदा दुर्घटना गराएर फरार भए अनुसन्धानमै समस्या उत्पन्न हुने गरेको छ। सर्लाहीको मलङ्गवासहित बलरा, गोडैता, कौडेना, हरिपूर्वा, ब्रह्मपुरी, पर्सालगायत सीमावर्ती पालिकामा अधिकांश स्थानीय बासिन्दाले भारतीय मोटरसाइकल प्रयोग गर्छन्। भन्सार नबुझाइ भारतीय मोटरसाइकल सस्तो मूल्यमा पाइने भएकाले सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाले भारतबाटै मोटरसाइकल खरिद गरेर ल्याउने गरेका छन्। कतिपयले भारतीयसँग पुराना मोटरसाइकल खरिद गरेर बिनाकागजात र भन्सार नबुझाइ सञ्चालन गर्ने गर्छन्। 

जिल्ला प्रशासन तथा प्रहरी कार्यालयले तराई क्षेत्रमा भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा अन्य सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरे पनि सफल हुन सकेका छैनन्। यहाँका विशिष्ठ व्यक्तिहरूले नै भारतीय सवारी प्रयोग गर्ने गरेकाले ती सवारीलाई भन्सार बुझाइ नियमानुसार सञ्चालनमा ल्याउन समस्या परिरहेको छ।  

सर्लाहीका प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले भारतीय मोटरसाइकल सवारी दुर्घटना गराएर फरार भए पव्रmाउ गर्न असाध्य मुस्किल पर्ने बताउनुभयो। “नेपाली मोटरसाइकल भए नम्बर प्लेटका आधारमा सवारी धनी पहिचान गरी पक्राउ गर्न सहज हुन्छ तर भारतीय मोटरसाइकल यदि दुर्घटना गराएर फरार भए कहीँकतै अभिलेख नहुने भएकाले सवारीधनी नै पत्ता लाग्दैन,” उहाँले भन्नुभयो। “यो अवस्थामा घाइतेलाई उपचारको प्रबन्ध मिलाउन तथा मृत्यु भइहाले क्षतिपूर्ति रकम दिलाउन प्रहरीलाई असाध्य अप्ठ्यारो पर्छ।”  

यहाँ भारतीय मोटरसाइकलले सामान्य ट्राफिक नियमसमेत पालना गरेको पाइँदैन। अधिकांश चालकले हेल्मेट नै नलगाइ मोटरसाइकल दौडाइरहेको देखिन्छ। हेल्मेट नलगाउने र तीव्र गतिमा दौडाउँदा अधिकांश भारतीय मोटरसाइकल दुर्घटनामा चालक तथा पछाडि सवार व्यक्तिलाई बढी चोटपटक लाग्ने तथा मृत्यु नै हुने गरेको छ। रामनगर गाउँपालिका–६, सिसौटका स्थानीय बिन्तिलाल कानुले आफूहरूको क्षेत्रमा सबैजसोले नै भारतीय नम्बर प्लेटका मोटरसाइकल चलाउने गरेका र अझ युवा पुस्ताले भारतबाट ३०/३५ हजार रुपियाँमा भारतीय मोटरसाइकल किनेर ल्याई अत्यन्त तीव्र गतिमा चलाउने गरेका बताउनुभयो। 

चोरीका तथा सीमापारिबाट सस्तो मूल्यमा ल्याइएका भारतीय मोटरसाइकलमाथि प्रहरी प्रशासनले नियमन नबढाए जनधनको क्षति बढ्दै जाने चिन्ता उहाँले व्यक्त गर्नुभयो। “भन्सार नतिरेका र कुनै कागजात नभएका भारतीय मोटरसाइकल लापरबाही ढङ्गले खुलेआम दौडाइएको छ, लागुऔषध सेवनकर्ताले त अझ बढी प्रयोग गरेको देखिन्छ,” कानुले भन्नुभयो, “यसतर्फ प्रहरी गम्भीर बन्नुपर्छ, अन्यथा आमपैदलयात्री तथा अन्य असुरक्षित हुने देखिन्छ।”

यहाँको पूर्वपश्चिम हुलाकी सडक र सदरमुकाम मलङ्गवासँग जोडिएका भित्री सडकमा धेरै मात्रामा भारतीय मोटरसाइकल दौडिन्छन्। जिल्लाको ग्रामीण भेगका सडकमा ट्राफिक चेकजाँच निकै कम हुन्छ। बाक्लो मात्रामा ट्राफिक चेकिङ हुने पूर्वपश्चिम राजमार्गमा ती भारतीय सवारी ट्राफिक प्रहरीलाई छलेर सञ्चालन गर्ने गरिएको छ।