रेखीराम राना
पाल्पा, असार १५ गते । बगनासकाली गाउँपालिकाले ‘सिभिल प्रयोगशाला’ सञ्चालनमा ल्याएको छ । विकासे योजनाहरूमा प्रयोग हुने कच्चा पदार्थको जाँच गर्ने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
बगनासकाली -९ चापपानीस्थित चिलाङ्दी भञ्ज्याङमा प्रयोगशाला स्थापना गरेर सञ्चालन गरिएको गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । गाउँपालिका अध्यक्ष चिदीले प्रयोगशाला स्थापनापछि पालिकाभित्र सञ्चालनमा रहेका विकासे योजनाहरूको प्रयोगशाला सेवाका लागि बुटवल जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।
विकास निर्माणका आयोजनालाई गुणस्तरीय, पारदर्शी र विश्वासिलो संरचना बनाउन प्रयोगशालाले सहयोग पुर्याउने अध्यक्ष चिदीले बताउनुभयो । उक्त प्रयोगशालामा बगनासकालीसहित अन्य पालिकाका सेवाग्राहीले सेवा लिनसक्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रनाथ लम्सालले बताउनुभयो ।
गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरले विभिन्न १५ प्रकारका कामको प्रयोगशालामा जाँच गर्न सकिने बताउनुभयो । प्रयोगशाला स्थापनापछि खर्च गरेर बुटवल तथा अन्य स्थानमा जानुपर्ने बाध्यता हटेको गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो ।