गोकर्ण दयाल
बैतडी, असार १५ गते । बैतडी जिल्ला बाढीपहिरोको उच्च जोखिममा भए पनि स्थानीय सरकारले विपत् प्रतिकार्य योजना बनाउन सकेका छैनन्। जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँग मनसुनजन्य विपत् प्रतिकार्य योजना माग गर्दासमेत स्थानीय तहले प्रतिकार्य योजना बुझाएका छैनन्।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष बैतडीसहित नेपालका २१ वटा जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेको घोषणा गरेको छ। बैतडीसहित सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा एक लाख ४७ हजार ६० जना प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ।
विगतका तथ्याङ्क अनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लामा बैतडी, इलाम, पाँचथर, धनकुटा, तेहथुम, ओखलढुङ्गा, ललितपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुमपश्चिम, दैलेख र अछाम रहेका छन्।
स्थानीय तहमा विपत् पूर्वतयारी तथा अहिलेसम्म विपत्का घटनाले निम्त्याएको क्षति, राहत र उद्धार सामग्रीलगायत वर्तमान अवस्थाका बारेमा जानकारीसहितको योजना माग गरिए पनि कसैले नबुझाएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताउनुभयो। मनसुनजन्य विपत्को जिल्लाभरिको अवस्था विश्लेषण गर्न जिल्ला विपत् व्यवस्थापन समितिको जेठ २१ गतेको बैठकले बैतडीका स्थानीय तहलाई १५ दिनभित्र योजना बुझाउन आग्रह गरेको थियो।
स्थानीय तहले योजना नबुझाउँदा बाढीपहिरोको अवस्था अद्यावधिक गरेर प्रतिकार्य योजना बनाउन समस्या भइरहेको सूचना अधिकारी बोहराले बताउनुभयो। स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र विपत्का घटना न्यूनीकरण गर्न विपत् व्यवस्थापन योजना बनाउनुपर्ने हुन्छ।
आठ स्थानीय तह जोखिममा
जिल्ला विपत् व्यवस्थापन समिति बैतडीले गत वर्ष तयार पारेको विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार आठ वटा स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा छन्। मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलासैनी गाउँपालिका पहिरोको उच्च जोखिममा छन्।
त्यस्तै सुर्नया र पाटन नगरपालिका बाढीपहिरोको मध्यम जोखिममा छन्। डिलासैनी गाउँपालिकाको बाङ्गाबगर, गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारी खेतलगायतका ठाउँ पहिरोको जोखिममा छन्। दोगडाकेदार गाउँपालिकाको सित्तड, वाली, पुर्चौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पहिरोको उच्च जोखिममा छन्। पुर्चौंडीको मल्लादेहीको लामुनी पहिरोका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको छ। स्थानीय तहले विपत् व्यवस्थापनका लागि छुट्याएको रकम आफू निकटका मानिसलाई आर्थिक सहायताका रूपमा बाँडेर सक्ने गरेको पाइएको छ। विपत् व्यवस्थापनका लागि छुट्याएको बजेटबाट स्थानीय तहले उद्धार सामग्री खरिद गर्न नसक्दा स्थानीय तहका विपत् व्यवस्थापन शाखा उपकरणविहीन बनेका छन्।