• २० असोज २०८१, आइतबार

नकारात्मक टिप्पणी हुनु दुःखद : मुख्यमन्त्री

blog

कोशी प्रदेश ब्युरो

विराटनगर, असार १४ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष प्रशासन सुधार कार्यदलले बुधबार प्रतिवेदन बुझाएको छ। प्रदेश सरकारले गठन गरेको कार्यदलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमका बिच उक्त प्रतिवेदन बुझाएको हो। 

सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रतिवेदन मार्फत कार्यदलले दिएका राय सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यन्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यदलका सुझावहरू कार्यान्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको महत्वपूर्ण भूमिका हुने जानकारी दिँदै उहाँले प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यान्वयनमा लैजान पनि मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभयो। 

मुख्यमन्त्री कार्कीले सङ्घीयताको महत्वपूर्ण हिस्साको रूपमा रहेको प्रदेश सरकारले सकारात्मक काम गर्दा पनि जनस्तरबाट नकारात्मक टिप्पणी हुनु दुःखद भएको बताउनुभयो। प्रदेश संरचनाप्रति जनस्तरबाट विभिन्न प्रश्न उठिरहेका बेला कार्यदल मार्फत आएका सुझावहरूको कार्यान्वयनले अहिलेको समस्यालाई समाधान दिने विश्वास व्यक्त गर्नुभयो। 

कोशी प्रदेश सरकारले गत २०७९ माघ ६ गते पूर्वसचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले बुझाएको प्रतिवेदन मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेलाई कार्यान्वयका लागि हस्तान्तरण गर्नुभएको थियो।