• १४ मंसिर २०८१, शुक्रबार

छ हजारभन्दा बढी रोजगारीका लागि बिदेसिए

blog

रामेछाप समाचारदाता

रामेछाप, असार १४ गते । चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट छ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका अनुसार चालु आव २०७९/८० को साउनदेखि वैशाखसम्ममा रामेछापबाट एक हजार २५० जना महिलासहित छ हजार ३४९ जना रोजगारीका लागि विदेश गएका हुन् । 

सुरक्षित आप्रवासन कार्यक्रम रामेछापका संयोजक दीपक केसीले रोजगारीका लागि रामेछापबाट मलेसिया, युएई, कतार, बहराइन, कुवेत, साउदी अरब, ओमानलगायतका देशमा गएको जानकारी दिनुभयो । चालु आवको १० महिनामा जिल्ला प्रशासन कार्यालय रामेछापबाट आठ हजार ८५९ जनाले राहादानी लिएका छन् । यीमध्ये आठ हजार ४६८ जनाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सूचना केन्द्रबाट परामर्शसमेत लिएका छन् । 

मन्थली नगरपालिकाले वैदेशिक रोजगारीमा जाने आफ्ना नागरिकको वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको नगर प्रमुख लव श्रेष्ठले बताउनुभयो । रामेछापको मन्थली नगरपालिका, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकामा अहिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालनमा छ ।