• १२ मंसिर २०८१, बुधबार

आठ जना नयाँ रोगी फेला परेपछि कुष्ठरोग विरुद्धको औषधि खुवाइँदै

blog

कुष्ठरोगविरुद्धको औषधि खाँदै ।

अविनाश चौधरी

धनगढी, असार १३ गते । दशक अगाडि नै निवारण भइसकेको कुष्ठरोगको आठ जना नयाँ बिरामी फेला परेपछि कैलालीको एक पालिकामा कुष्ठरोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिएको छ । 

चालु आर्थिक वर्षमा नयाँ रोगी थपिएपछि कैलारी गाउँपालिकामा कुष्ठरोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाको समन्वयमा नेदरल्याण्ड लेप्रोसी रिलिफ र नेपाल समाज कल्याण सङ्घ कञ्चनपुरले अभियान सञ्चालन गरिरहेका छन् । 

सो गाउँपालिकाको वडा नम्बर १ मा ६, ५ र ६ मा एक-एक जना नयाँ बिरामी फेला परेका छन् । औषधि खुवाइने अभियानको सुरुवात रोगी फेला परेका वडाबाट गरिएको छ । तर, नौ वटै वडामा औषधि खुवाउने अभियान सञ्चालन गर्ने जनाइएको छ । 

गाउँपालिकामा कुष्ठरोग पुनः देखिनु खतराको सङ्केत रहेको उल्लेख गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले औषधि खुवाउने अभियानलाई सफल पार्न आग्रह गर्नुभयो । कुष्ठरोग सरुवा रोग रहेकाले यसबाट जोगिन सचेत हुनुपर्ने पनि उहाँले जोड दिनुभयो । 

गाउँपालिकामा २०५४ देखि हालसम्म ३६९ जना कुष्ठरोगी रहेका छन् । अहिले फेला परेको एक जना बिरामी १४ वर्षभन्दा मुनिको रहेको जनाइएको छ । सानो बच्चामा कुष्ठरोग देखिनु भनेको रोग सरिरहेको बुझ्नु पर्ने नेदरल्याण्ड लेप्रोसी रिलिफका प्रकाश मल्लले बताउनुभयो । उहाँले यो खतराको सङ्केत रहेको उल्लेख गर्नुभयो । 

यहाँ २०६८ सालमा नै कुष्ठरोग निवारण भएको थियो । तर, फेरि नयाँ रोगी भेटिएपछि रोग सर्ने खतरा बढेको छ । निवारण भइसकेको रोग फेरि देखा परेकाले सबैले कुष्ठरोगविरुद्धको औषधि खानु पर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले बताउनुभयो । 

गाउँपालिकाको सबै वडावासीलाई यो रोगविरुद्धको औषधि खुवाइने र आवश्यक सहयोग गर्न गाउँका भलमन्साहरु, महिला स्वास्थ्य स्वयम् सेविकालाई आग्रह गरिएको छ ।