• ११ असोज २०८१, शुक्रबार

गुल्मीमा चोरीका घटना बढ्दै

blog

जिल्ला प्रहरी कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे 

तम्घास, असार १२ गते । जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क, सहकारी लगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भयो, त्यो घटनाको दोषी पत्ता नलाग्दै कालीगण्डकीमा पनि चोरी भयो।

सोमबार राती कालीगण्डकी गाउँपालिका वडा नं ७ भुर्तुङको खमरे पाटा बस्ने सकुल थापाको घरबाट एक हजार पाँच सय नगद, रेनुका थापाको घरबाट मोबाइल सेट, कोपिला थापाको घरबाट आधा तोलाका सुनको औँठी, देगराज पुनको घरबाट मोबाइल सेट, लुमबहादुर मगरको घरबाट मोबाइल सेट चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

राती १२ः३० बजे आफूहरूलाई चोरी भएको भन्ने सूचना आएको र लगत्तै जिल्लाको टोली घटनास्थलतर्फ गएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । प्रहरीको टोलीले सूक्ष्म रूपमा अनुसन्धान गरी रहेको पाण्डेले बताउनुभयो ।

सुरक्षा दिने राज्यको दायित्व : नागरिक समाज

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले चोरीका घटनाहरूलाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासनले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो । जनताको जिउधनको सुरक्षा दिनु राज्यको दायित्व भएको भन्दै जनताले सुरक्षाको प्रत्याभूति पाउनुपर्ने उहाँको तर्क छ । 

जेठ ३२ गते राती सत्यवती गाउँपालिका वडा नम्बर एक अस्लेवामा जीतबहादुर मिदुनको घरमा शङ्कर थापाले सञ्चालन गरेको औषधि पसलबाट ८ हजार नगद, पुष्पा अर्यालको करिब ३० हजार नगद, सीता होटेलबाट छ हजार, तोयनारायणकी कान्छी बुहारीको घरबाट ४० हजार नगद र १५ तोला सुन, मति पाण्डेको घरबाट पुराना सामग्रीहरू चोरी भएको थियो ।

शुक्रबार अर्को वडा लिम्घामा रहेको कुमारी बैकको ब्रान्चलेस बैङ्किङ शाखाबाट चार लाख नगद चोरी भएको र वडा कार्यालय तोडफोड भएको थियो । हुन त गुल्मीका लागि यो कुनै नौलो घटना भने होइन, विगतका वर्षमा पनि चन्द्रकोट ,गुल्मीदरबार, मालिका र सत्यवतीका विभिन्न स्थानहरूमा घर, वडा कार्यालय तोडफोड गरी चोरी भयो । त्यी घटनामा संलग्नहरूलाई अझैसम्म पनि प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।

यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नवीन किशोर प्रधानले चोरीका घटनामा स्थानीयहरूको पनि संलग्नता रहेको हुनसक्ने भन्दै सूचना प्राप्त गर्नु नै प्रमुख भएकाले सूचना दिई सहयोग गर्न पनि उहाँले स्थानीयहरूलाई आग्रह गर्नुभएको छ । आफूहरूसँग पर्याप्त स्रोत साधन नभएकाले पनि अनुसन्धानमा केही समस्या भएको उहाँको भनाइ छ । चोर समात्न नसक्दा प्रहरीले काम गरेन जस्तो जनतालाई लागेको हुन सक्ने भन्दै आफूहरू अनुसन्धानमै रहेको दाबी उहाँले गर्नुभयो ।

उक्त क्षेत्रमा स्याङ्जा र गुल्मीको सिमाना पनि भएकाले चोरीका घटनाहरू बढ्दै गएको बताउँदै त्यस क्षेत्रमा प्रहरी चौकी पनि आवश्यक रहेको उहाँको भनाइ छ । अस्लेवामा चोरी हुनु केही दिन पहिले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका पाँच छ वटा घरहरूमा तोडफोड गरी चोरी भएको थियो ।