काठमाडौं, असार ११ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै मन्त्री किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताउनुभएको हो ।
मन्त्री किरातीले बजेट असन्तुलित भएकोमा माफी समेत माग्नुभयो । उहाँले बजेटको सिलिङ कम भएका कारण सांसदहरूले दिएका धेरै योजनाहरू समेट्न नसकेको बताउनुभयो । उहाँले सांसदहरूलाई खुसी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको औँल्याउनुभयो ।
मन्त्री किरातीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरू समावेश गरिएको बताउनुभयो । त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्त्वपूर्ण सांस्कृतिक, धार्मिक एवम् पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।
‘‘सदाझैँ यसपालि मन्त्रालयको सिलिङ बजेटको व्यवस्था भएन । हाम्रो मन्त्रालयमा जिरो थियो सिलिङ बजेट । पुरातत्त्व विभाग र पर्यटन विभागमाथि हामी भर पर्नु प¥यो । धरै योजनाहरू अटाउनै सकिएन । सबैको चित्त प्रसन्न बनाउनै सकिएन । बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीको । स्वाभाविक रूपमा बजेट असन्तुलन हुन गएको छ । त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थि छु । माननीय सांसदहरूको मागलाई हामीले लिपिबद्ध गरेर सम्बन्धित मन्त्रालय पठाएका थियौँ । त्यहाँ पनि बजेटको सीमाले योजनाहरू पर्न सकेन भनेर हामीले बुझ्दा राम्रो हुन्छ होला ।,’’ मन्त्री किरातीले भन्नुभयो, ‘‘बजेको सीमा करिब ४५ प्रतिशतले हाम्रो मन्त्रालयमा घटेर आयो । हुँदाहुँदै पनि सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी कार्यक्रमहरू समावेश गरिएको छ । समावेश गरिएका कार्यक्रमहरू धेरै साना–साना बजेटका छन् । प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्त्वपूर्ण सांस्कृतिक, धार्मिक एवम् पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्य सम्पन्न भएको सबैलाई अवगत नै छ ।’’
मन्त्री किरातीले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानबिन गरिएको छ बताउनुभयो । उहाँले विमानस्थल थप्नेभन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने जिकिर गर्नुभयो । मन्त्री किरातीले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको स्पष्ट पार्नुभयो ।