लक्ष्मण पौडेल
भैरहवा, असार ११ गते । बुवाआमाको नागरिकता भएर पनि नागरिकता नपाउनुभएका सिद्धार्थनगर नगरपालिका –४ का गणेश धोबीले आइतबार नागरिकता पाएपछि खुसी हुनुभएको छ । नागरिकता पाएपछि उत्साहित हुँदै उहाँले भन्नुभयो, “अव जागिरका लागि धाउन र बैङ्क खाता खोल्न पाउने भएँ ।”
२०६३ पुस १० मा जन्मनुभएका धोबीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट नागरिकता लिनुभएको हो । नागरिकता पाउने उमेर भए पनि उहाँले पाउन सक्नुभएको थिएन । उहाँले भन्नुभयो, “नागरिकता नहुँदा धेरै काम गर्न पाएको थिएन, मोबाइलको सिम, लाइसेन्स निकाल्न पाएको थिएन, जागिर खाने ठाउँमा पनि नागरिकता नभए नहुने, विदेश जाँदा पनि चाहिने, आज नागरिकता पाउँदा खुसी छु ।”
सिद्धार्थनगर –४ कै साबिर अली तेली २०६० पुस ४ मा जन्मनुभएको थियो । उहाँले पनि अहिलेसम्म नागरिकता पाउन सक्नुभएको थिएन । आइतबार नागरिकता पाएपछि उहाँको खुसीको सीमा थिएन । उहाँसँगै पुग्नुभएका सिद्धार्थनगर –४ कै दीपक धवलले पनि आइतबार नयाँ कानुनअनुसार नागरिकता पाउनुभयो । धवलले नागरिकता प्राप्त गरेपछि निकै खुसी भएको बताउनुभयो ।
राष्ट्रपतिबाट प्रमाणीकरण भई नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयन गर्ने बाटो खुलेसँगै रुपन्देहीमा आइतबारदेखि नागरिकता वितरण सुरु गरिएको छ । २०६३ मा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि वंशजको आधारमा नागरिकता दिन सुरु गरेको छ ।
आइतबार सिद्धार्थनगर नगरपालिका –४ का तीन जनालाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्दै नागरिकता वितरण कार्यको शुभारम्भ गर्नुभयो ।
जन्मको आधारमा नागरिकता प्राप्त गर्नुभएका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । उहाँले जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानले कार्यालयमा रितपूर्वक निवेदन दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले कार्यालयमा भिडभाड हुन नदिन र कामलाई व्यवस्थित गर्न पालिका अनुसार आलोपालो प्रणाली लागू गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सीमित स्रोतसाधनका बाबजुद नागरिकलाई सहज र छिटोछरितो सेवा प्रवाह गर्ने उद्देश्यले अब टोकन प्रणाली र टाइमकार्ड लागू गर्दैछौं ।” जिल्ला प्रशासन कार्यालय भैरहवाबाट दुई सय, इलाका प्रशासन कार्यालय बुटवल र मझगाँवाबाट एक–एक सय गरी दैनिक चारसय जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिने र यो कार्यलाई निरन्तरता दिंदैजाने प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले स्थानीय तहका जनप्रतिनिधिका लागि अनुशिक्षण कार्यक्रम राखिसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै वर्षपछि जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता वितरण सुरु गरिएको छ ।”
सिद्धार्थनगर नगरपालिका वडा –४ का वडाध्यक्ष मुक्तिनाथ यादवले नागरिकता प्रमाणपत्रका लागि आइतबार १७ जनालाई सिफारिस गरिएको जानकारी दिनुभयो । उहाँले नागरिकताबाट वञ्चित नेपालका नागरिकताविहीन व्यक्तिले नागरिकता पाउँदा खुसीको अनुभूति गरेको बताउनुभयो ।