गोविन्द शर्मा
बाँके, असार ११ गते । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले बाँके र बर्दियालाई जोड्न मध्यमार्गी लोकमार्गको निर्माण अघि बढाउन बजेट विनियोजन गरेको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा २० को राँझा चोकदेखि बर्दियाको राजापुर नगरपालिका जोड्ने राँझा–राजापुर (बाँके–बर्दिया) मध्यमार्गी लोकमार्ग अन्तर्गत आगामी आर्थिक वर्ष २०८०–८१ मा बाँके र बर्दिया दुवै तर्फबाट सडक निर्माणको काम सुरु गर्न बजेट विनियोजन भएको छ ।
सडक पूर्वाधार विकास कार्यालय बाँके अन्तर्गत राँझा–राजापुर मध्यमार्गी लोकमार्गको राँझा चोकदेखि गुरुवागाउँ–गिजरा–ईगाउँ खण्डका लागि एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
यसैगरी, राँझा–राजापुर मध्यमार्गी लोकमार्ग बर्दियाको दौलतपुरघाटदेखि सैजनाघाट पर्सेनीबजार सडकखण्ड निर्माणका लागि सडक पूर्वाधार कार्यालय बर्दियाका लागि दुई करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
यो सडक निर्माण भएमा बाँके र बर्दियाका दर्जन स्थानीय तहका हजारौँलाई यातायातको सहजता हुने देखिन्छ । बाँके ३ (१) बाट निर्वाचित लुम्बिनी प्रदेश सांसद रत्न खत्रीले यो सडक बाँके र बर्दियाको भित्रीवस्तीका हजारौँ बासिन्दाका लागि आवश्यक भएको बताउनुभयो ।
प्रदेश सभा सदस्य खत्रीले भन्नुभयो, ‘यो मार्गले नेपालगञ्ज विमानस्थलदेखि बर्दियाका पर्यटकीय स्थलसम्म पुग्न थप सहजता हुन्छ, ग्रामीण बस्तीमा कालोपत्रे सडकको पहुँच पनि पुग्नेछ ।’
स्थानीय शासनका जानकार मीनबहादुर मल्लले बाँके र बर्दिया जोड्न नयाँ सडक निर्माणको योजना आउनु आफैमा सकारात्मक भएको बताउनुभयो । करिब एक सय किलोमिटर लामो सडकका लागि छुट्टाइएको बजेट न्यून भएको भन्दै उहाँले यसलाई राजनीतिक स्टन्टको रूपमा नभई निर्माण सम्पन्न गर्नेगरी प्राथमिकता दिनुपर्ने माग गर्नुभयो ।