काठमाडौं, असार ११ गते । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो स्पष्टीकरण दिनुभएको हो ।
उपप्रधानमन्त्री खड्काले हुम्ला सदरमुकाम जोड्ने सडक नेपाली सेनाले आगामी आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सो सडकको केही भाग निर्माणको काम मात्रै नेपाली सेनाले पाएको र सो काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।
मन्त्री खड्काले भन्नुभयो, ‘‘सेनाले जिम्मा लिएका सडकहरूको सम्पन्न गर्ने कुराको जुन प्रश्न छ । कतिपय सन्दर्भमा हाम्रो अर्थतन्त्रको सीमितताको कारण बजेट अभावको कारणले पनि सेनाले सम्पन्न गर्न चाहँदा चाहँदै पनि कतिपय सडकहरू सम्पन्न हुन नसकेका पनि छन् । अब जहाँसम्म हुम्लाको कुरा उठेको छ । हुम्लाको सन्दर्भमा सेनाले पाएको जिम्मेवारी अनुसारको आम आउने आर्थिक वर्षमा सम्पन्न गर्छ । र, त्यहाँ सडक विभागअन्तर्गत पनि काम भइरहेको अवस्था छ ।’’
उहाँले सुरक्षाको आवश्यकतालाई ध्यानमा राखेर सरकारले जलविद्युत आयोजना निर्माण कार्यमा पनि नेपाली सेनालाई परिचालन गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई परिचालन गर्दै लैजाने नीतिलाई निरन्तरता दिने बताउनुभयो ।
मन्त्री खड्काले भन्नुभयो, ‘‘हुम्ला सदरमुकाम पुग्ने सन्दर्भमा सेनाको तर्फबाट लिइएको जुन जिम्मेवारी छ । त्यसलाई तोकिएकै समयमा पूरा गर्ने कुरा म सम्माननीय सभामुखमार्फत माननीय सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु । निजी जलविद्युत आयोजनाहरूमा सरकारको निर्णय अनुसार सुरक्षाको आवश्यकतालाई ध्यानमा राखेर सेनालाई घटाउने प्रबन्ध विगतदेखि हुँदै आएको छ । सोही आवश्यकता अनुसार भविष्यमा पनि त्यो बारेमा निर्णय हुने ब्यहोरा म माननीय सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु ।’’
उपप्रधानमन्त्री खड्काले नेपाली सेना आफूले पाएको सडकहरूको निर्माण कार्य समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।