• १३ मंसिर २०८१, बिहिबार

मर्स्याङ्दीको जलविद्युत केन्द्रको उत्पादन बढ्यो

blog

मस्र्याङ्दी जलविद्युत केन्द्रको जलाधार क्षेत्र । तस्विर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार ११ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन बढेको छ । हाल वर्षा हुन थालेपछि उत्पादन बढेको तर पूर्ण क्षमतामा भने उत्पादन हुन नसकेको केन्द्रले जनाएको हो । 

६९ मेगावाट क्षमताको केन्द्र हिउँदमा ४० मेगावाट उत्पादन भएकोमा हाल ५५ मेगावाट पुगेको केन्द्रका प्रमुख बद्री फुयाँलले बताउनुभयो । वर्षा थोरै भएको र जलवायु परिवर्तनले हिमाल हिउँ कम परेको पूर्ण क्षमतामा उत्पादन हुन नसकेको फुयाँलले बताउनुभयो । 

केन्द्रका प्रमुख फूँयालले भन्नुभयो, "यतिबेला प्रशस्त पानी पर्ने समय हो तर खडेरी लामो समयसम्म भएकोले नदीमा पानीको बहाव कम भएकोले पूर्ण क्षमतामा उत्पादन हुन सकेको छैन ।" धेरै समय खडेरी परेकोले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेकाले पूर्ण क्षमतामा उत्पादन हुन नसकेको केन्द्र प्रमुख फुयाँलले जानकारी दिनुभयो । यो समय वर्षा मौसमको भएपनि वर्षा थोरै मर्स्याङ्दीमा मिसिने स्रोतमा पानीको बहाव कम भएकाले ६९ मेगावाट उत्पादन हुनुपर्नेमा ५५ मेगावाट मात्रै भएको फुयाँल बताउनुहुन्छ । 

साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्का जम्मा गरेर लैजाने र साँझ बिहान भने पूर्ण उत्पादन बढाउने गरिएको केन्द्र प्रमुख फुयाँलले जानकारी दिनुभयो । 

केन्द्रका अनुसार विद्युतको माग साँझ ५ बजे देखि १० बजेसम्म र बिहान ५ बजेदेखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर करिब पूर्ण क्षमतामै उत्पादन गरिएको छ । विद्युतको माग धेरै भएको समयमा तीन वटा युनिटबाट २३-२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरूपको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको छ । 

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेसँगै विद्युत उत्पादन पनि घट्ने गर्दछ । 

यसैगरी, गर्मी मौसम पानी धेरै पर्ने हिमाल पनि धेरै पग्लने भएकोले उत्पादन वृद्धि हुने गर्दछ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।