• ५ जेठ २०८१, शनिबार

भरतपुर महानगरको बजेट छ अर्ब ३१ करोड

blog

बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख चित्रसेन अधिकारी । तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, असार १० गते । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि छ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

भरतपुरमा आइतबार शुरु भएको भरतपुर महानगरपालिकाको १३ औं नगरसभाको अवसरमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको आधारमा केन्द्रित रहेर उपप्रमुख चित्रसेन अधिकारीले उक्त बजेट पेस गर्नुभएको हो ।

प्रस्तुत बजेट अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपियाँले बढी हो । चालु आर्थिक वर्षका लागि पुरकसमेत गरी छ अर्ब ३१ करोड १९ लाख ७४ हजार रुपियाँको बजेट विनियोजन गरिएको थियो ।

महानगरपालिकाले आन्तरिक आय, अन्तरसरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँट जनसहभागितालगायतका शीर्षकमा बजेट बढाएको छ ।

यसपटक आन्तरिक आय ५० करोड रुपियाँ वृद्धि गर्ने लक्ष्य महानगरपालिकाको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाले एक अर्ब २५ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको थियो । तर, हालसम्म महानगरपालिकाले ९६ करोड ५८ लाख मात्रै राजश्व उठाउन सकेको छ ।

आगामी आर्थिक बर्षका लागि एक अर्ब ७५ करोड उठाउने लक्ष्य लिएको छ । आन्तरिक आयमा घरजग्गा रजिष्ट्रेशन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँडसमेत राखिएको छ ।

अन्तर सरकारी वित्तीय हस्तान्तरण आगामी वर्ष एक अर्ब ८३ करोड ९९ लाख ७५ हजार रुपियाँ प्राप्त हुने महानगरका उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभाागिताबाट ५० करोड, बैंक मौज्दातबाट एक अर्ब ६५ करोड, तथा सडक बोर्ड नेपालबाट ३ करोड प्राप्त हुने अधिकारीले प्रक्षेपण गरेका छन् ।

अन्तर सरकारी अख्तियारी शीर्षकमा महानगरपालिकाले एक अर्ब १० करोड रुपियाँ अनुमानित आय हुने अनुमान गरेको छ । जसलाई अन्तर सरकारी अख्तियारी शीर्षकबाट खर्च तथा लेखाङ्कनको प्रबन्ध मिलाउने बताइएको छ । महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरूका लागि एक अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ ।

महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई दुई करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रुपियाँ विनियोजन भएको छ । चालु आर्थिक वर्ष दुई करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको थियो ।

ठूला र रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न संघ तथा प्रदेश सरकारको स्रोतसँग समपुरक साझेदारी कोष स्थापना गर्न १० करोड विनियोजन भएको छ ।

बजेट प्रस्तुत गर्नुपूर्व महानगर प्रमुख रेनु दाहालले महानगरको आगामी आव २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

उक्त नीति तथा कार्यक्रममा हरियाली युक्त र सुरक्षित महानगरको रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरिने उल्लेख थियो । नीति तथा कार्यक्रममा समावेश गरिएका अधिकाँश ठूला मेघा परियोजना संघ र प्रदेशको बजेटमा केन्द्रित छन् ।