• ४ पुस २०८१, बिहिबार

कवाडीझैँ थन्किए घुम्ती शौचालय

blog

चन्द्रपुर, असार  १० गते । चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झैँ देखिएको छ । शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन् । 

नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन । यहाँ दिनहुँ ठुलो सङ्ख्यामा सवारी साधन र मानिसको आवतजावत हुन्छ । उनीहरूलाई शौच गर्न निकै समस्या पर्दै आएको छ । चन्द्रनिगाहपुरको मुख्य चोक क्षेत्र पूर्व–पश्चिम राजमार्ग भएर चल्ने बसका यात्रु तथा मालवाहक ट्रक  चालकका लागि खाना खानेस्थलका रूपमा चिनिन्छ । 

जिल्लामा नमुनाको रूपमा यसअघिका नगरप्रमुख रामचन्द्र चौधरीका पालामा रु १० लाखको  लागतमा शौचालय ल्याइएको थियो । ती शौचालय अहिले पनि शहीद पार्क र नगरपालिका कार्यालय परिसरमा त्यतिकै थन्किएका छन् । अहिले ती शौचालयका सञ्चालन नहुँदा सबै महत्त्वपूर्ण सामान काम नलाग्ने भइसकेका छन् । 

नगरपालिकाकै मुटु मानिने वडा नं. ४को मुख्य चोकमा सार्वजनिक शौचालय बनाउन जमिन अभाव भएकाले नगरपालिकाले दुईवटा घुम्ती शौचालय खरिद अधिक भीड हुने यहाँको दुई स्थानमा सञ्चालनमा ल्याउन खोजेको थियो । 

कोरोना सङ्क्रमणको महामारीका बेला एउटा चाँदी खोला छेउको शहीद पार्कमा लगिएको र अर्कोलाई चोकमा राखिएको थियो । नगरपालिका घोषणा नहुँदै तत्कालीन चन्द्रनिगाहपुर गाविसले चोकको दक्षिण क्षेत्रमा बग्ने पैनीमा शौचालय भवन निर्माण गर्न थालेको थियो । उतिबेला शौचालय बनाउने ठाउँका विषयमा ठुलै विवाद भएपछि सार्वजनिक शौचालय बन्न नसकेको स्थानीय समाजसेवी राजु तिवारीले बताउनुभयो । उहाँका अनुसार त्यसपछि यस क्षेत्रमा शौचालय निर्माणका लागि कसैले पनि पहल गरेनन् । 

नगरपालिकाले चोकको पश्चिमतर्फ जङ्गल छेउमा सार्वजनिक शौचालय बनाएको भए पनि त्योसमेत प्रयोगविहीन छ । अहिले पनि चोकमा मानिस शौच गर्न नपाएर छटपटाउने गरेको देखिन्छ । पैदलयात्री शौचालय खोज्दै होटल जान बाध्य भए पनि उनीहरूलाई होटल सञ्चालकले शौच गर्न दिँदैनन् । घुम्ती शौचालय चाँडै सञ्चालनमा ल्याउनुपर्नेमा स्थानीयवासीको जोड छ । 

नगरपालिकाले लाखौँ लगानीमा ल्याएको त्यस्ता घुम्ती शौचालय व्यवस्थापन र सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती हुँदै आए पनि नगरपालिकाको ध्यान जानसकेको छैन । घुम्ती शौचालय सञ्चालन गर्ने योजना रहेको नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले बताउनुभयो । शौचालयका केही पाटपुर्जामा समस्या देखिएको जनाउँदै उहाँले घुम्ती शौचालय सानो र साँघुरोसमेत रहेको जनाउँदै चाँडै नै ‘मोडिफाइर्’ गरी सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । रासस