• २० असोज २०८१, आइतबार

हेवा खोलामा फड्के पुल सञ्चालन

blog

मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएपछि आवत–जावतका लागि बनेको फड्के पुल । तस्बिरः दिलकुमार लिम्बू/रासस

नारायण तुम्बापो

फिदिम, असार ९ गते। मेची राजमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको हेवा खोलामा शुक्रबार बिहान निर्माण थालिएको फड्के पुल सञ्चालनमा आएको छ। तत्कालका लागि यात्रु आवागमनलाई सहजिकरण गर्न निर्माण गरिएको फड्के पुल शनिबार दिउँसो २ बजेबाट सञ्चालनमा आएको हो। 

पाँचथरका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायि, युवाको सक्रियतामा फड्के पुल बनेको हो। मुख्य गरेर फिदिम ओदिनस्थित नेपाली सेनाको रणशेर गणका माउण्टेन वारफेयर विशेषज्ञ समूहको प्राविधिक सहयोगमा फड्के बनाइएको हो। बाँसका साथै विजुलीको तार, नट प्रयोग गरेर बनाइएको फड्के निर्माणमा युवा संघ पाँचथरको पनि सहयोग रहेको जनाइएको छ।

फड्के पुलको सहयोगले गाडीमार्फत वारिपारिसम्म आइपुग्ने यात्रुलाई आ–आफ्नो गन्तव्य पुग्न तरेर जान थालेका छन्। मेचीमार्गको फिदिम–ताप्लेजुङ खण्डमा दुई सय बढी निजी तथा भाडाका गाडीबाट दुई हजारसम्म यात्रुले यात्रा गर्ने गर्छन्। 

हेवाखोला पुल बगाएपछि यात्रुहरुलाई असुविधा पुगेको थियो। फड्के पुल बनेपछि यात्रुलाई धेरै राहत पुगेको युवा संघ पाँचथरका कमल थपलियाले बताउनुभयो। फड्के तर्ने यात्रुलाई वारीकाले वारीबाटै र पारिकाले पारिबाट उठाएर गन्तव्यतर्फ लगिदिन थालेका छन्। 

यहाँ सडक डिभिजन इलामबाट बनिरहेको बेलीब्रिज निमार्ण सम्पन्न नहुदाँसम्म यात्रुलाई यात्रा गर्नमा फड्केले सहजिकरण गरिदिने विश्वास गरिएको छ। बेली ब्रिज बन्न एक महिना लाग्ने बताइएको छ। हेवाखोलामा तत्कालमा डाइभर्सनको व्यवस्था गरेर गाडी ओहोर दोहोर गराउने प्रयास पनि भइरहेको छ।