• १० मंसिर २०८१, सोमबार

दाइ मूल्य कति पर्छ ? (कविता)

blog

दाइ त्यो तिमीले साँचेको इमानको मूल्य कति पर्छ

तिर्नु छ दाइ मैले गरेको बेइमानको मूल्य कति पर्छ ।


म शहरमा बरालिरहँदा तिमी गाउँको भित्तामा थियौ

भरपाई गर्नु छ दाइ तिम्रो दुःखको मूल्य कति पर्छ ।


हलो जुवा कोदाली तिम्रो साथी भए मेरो लत अनि बोतल

जोड्नु छ दाइ फोरिएका तिम्रा सपना मूल्य कति पर्छ ।


घाम पानी भनेनौ  खेतबारी बाँझो राखेनौ छाइरह्यो हरियाली

कुद्‍नु छ दाइ तिमीले खनेको गोरेटो बाटो मूल्य कति पर्छ ।


आमा बिरामी हुँदा गाडिभित्र थिएँ तिमी बोक्दै थियौ डोको

भारी बिसाउनु छ तिमीले बनाएको चौतारीमा मूल्य कति पर्छ ।