गोरखा, असार ९ गते । गोरखाको काहुले भंगार, बुंगकोटमा नेपालका प्रथम शहीद लखन थापा मगरको स्मारक स्थल निर्माण गरिएको छ । लखन थापा मगरको जन्मस्थल समेत रहेको यहाँ थापाले विद्रोहको सुरुवात गरेका थिए । सरकारले थापालाई प्रथम शहीद घोषणा गरेको छ। उनी पहिलो नेपाली राजनीतिक असन्तुष्ट थिए र राणा बंसको शासनको प्रतिरोध गरेका थिए ।
बुंककोटको राजाको रूपमा, उनले जङ्गबहादुर राणाको शासनको विद्रोह गरे र स्वतन्त्र राज्य र सेना गठन गर्न जङ्गबहादुर राणा शासनलाई नष्ट गर्न आफ्नो राजनीतिक विचारधाराको प्रचार गरेका थिए । लखन थापा सन् १८५७ मा कम्पनी बहादुरको सरहदमा भएको विद्रोहमा पुरानो गोरख पल्टनमा भर्ना भई नेपाली फौज भारत जाँदा यिनी पनि गएका थिए। जब नेपाली फौज भारतबाट नेपाल फर्किएको केही वर्ष पश्चात् लखन थापा मगरले सैनिक सेवाबाट अवकाश पाए। उनी आफ्ना भारतको अलमोडामा रहेका नातेदारहरू कहाँ गएर बाल्यावस्था र प्रारम्भिक शिक्षा त्यही पाएका थिए।
लखन थापा मगरको विचार निकै नै गहिरो भएर पुर्खौली घर गोरखाको बुंगकोटमा फर्केर पुरानो रुढी बादी परम्परा र अन्धविश्वास समेतले गर्दा देशवासीहरूमा दास मनोवृत्ति बढेको रहेछ भनेर सामाजिक कुरीतिहरू हटाएर यहाँ नयाँ समाजको निर्माण गर्न लखन थापा मगरले कम्मर कसे।
लगन थापा मगरका साथी जयसिंह चुमी राना मगर र सुमति गुरुङसँग सल्लाह गरी सन् १८७५ मा एउटा गुप्त सङ्गठन खडा गरेका थिए । तत्पश्चात् यिनीहरूले धर्म र देवीको नामबाट जनचेतना जगाउन खोजे र भने हामी सबै मिलेर जङ्गबहादुर राणलाई हटाएर नेपालमा सत्ययुग फिराउ भनी गाउँ, गाउँमा जङ्गबहादुर हटाऊ अभियानमा लागेका थिए । लखन थापा मगरको विचारबाट गाउँका युवाहरू प्रभावित भएर करिब दुई हजार भन्दा बढी बेरोजगार केटाहरू भेला भए र ती युवाहरूलाई लड्नको लागि यही बुंगकोटको नजिकै गौचरमा लगेर सैन्य अभ्यास गराउन लागे। केही मात्रामा लखन थापा मगरले हतियारहरू पनि सङ्कलन गरेका थिए।
जङ्गबहादुर राणा त्यस बखत पश्चिमको जङ्गलमा बेलायतका युवराजलाई सिकार खेलाउन गएका थिए। आफ्नो विरोधमा गोरखाको बुंगकोटमा विद्रोह भइरहेको खबर जङबहादुरले सुराकी मार्फत थाहा पाए।
यी सबै थाहा पाएर ३० मार्च १८७३ इ. का दिन सदर अर्थात् काठमाडाैंमा आइ पुगे। तत्पश्चात् जङ्गबहादुर राणाले देवीदत्त पल्टनलाई गोरखाको बुंगकोटमा गएर ती विद्रोही माथि आवश्यक सैन्य कारबाही गरी पक्राउ गरी काठमाडौँ ल्याउने आदेश दिए।
आदेशअनुसार देवीदत्त पल्टन गोरखाको बुंककोट पुगेर पुरै गाउँलाई चारै तर्फ घेरा गरी सैनिक कारबाही सुरु भयो। आधुनिक हतियारबाट सुसज्जित जङबहादुरका सैनिकहरूसँग पत्थरकला बन्दुक, खुँडा, खुकुरी, ढुङ्गाले लखन थापा मगरका तालिम प्राप्त युवाहरूसँग लामो समय भिडन्त भयो। सङ्घर्षमा लगन थापा मगरका अनुयायीहरूले वीरगति प्राप्त गरे। अन्त्यमा मुख्य नेता लगन थापा मगर सहित ४० देखि ५० जना बिद्रोहीहरुलाई जङबहादुरका सैनिकहरूले पक्राउ गरी हतकडी लगाएर बाँसको साँघुरो पिँजडामा राखेर काठमाडौँ ल्याएर जङ्गबहादुर कहाँ पेस गरियो।
थापाथली दरबारमा नाटकीय रूपमा यिनीहरूको मुद्दा हेरियो। त्यति बेला जङ्गबहादुर राणाले जे भन्थे त्यही नै हुने गर्दथ्यो। त्यहाँ अभियुक्तहरूलाई निकै नै कोर्राले पिटेर चरम यातना समेत दिइएको थियो। मुख्य अपराधीका रूपमा लखन थापा मगर र जयसिंह चुमी राना मगर सहित पाँच जना अपराधीहरूलाई अपराधी ठहर गरी यिनीहरूलाई गोरखाको बुंगकोट मै लगेर खरीको रुखमा झुन्डाएर मृत्युदण्ड दिने फैसला सदर भयो। सोही अनुसार बुंगकोटको लखन थापाको घर नजिक रहेको खरीको रुखमा झुन्डाएर मृत्युदण्ड दिइयो।