• १४ मंसिर २०८१, शुक्रबार

सबस्टेसनमा लाइन लैजान निकुञ्जको अवरोध

blog

शालिग्राम नेपाल 

चितवन, असार ८ गते । पश्चिम चितवनमा निर्माण भएको देवनगर सबस्टेसन सञ्चालनमा आउन नसक्दा विद्युत्को भार धेरै भएर लोडसेडिङ वृद्धि भएको छ । 

विद्युत्को माग धेरै भएपछि भार क्षमता वृद्धि गर्न भरतपुर महानगरपालिका–६, देवनगरमा दुई वर्षअगाडि सबस्टेसन निर्माण गरिएको थियो । भरतपुरको मुख्य बजार क्षेत्र र पश्चिम चितवनको केही भागमा भरतपुरको भोजाडमा रहेको र पश्चिम चितवनको चनौलीमा रहेको स्टेसनमार्फत मेघौली, जगतपुर, माडी क्षेत्रमा वितरण गरिएको छ । 

यी दुवै क्षेत्रमा अत्यधिक विद्युत्को माग भएर लोड हुन थालेपछि दुवै सबस्टेसनको भारलाई कम गरी लोडसेडिङ हुनबाट रोक्न देवनगरमा स्टेसन निर्माण गरिएको छ तर स्टेसनमा चार्ज गरेर विद्युत् सप्लाई गर्नका लागि त्यहाँसम्म विद्युत् लाइन लैजान पाएको छैन । चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै विद्युत्को पोल लैजानुपर्ने भएकाले वातावरण प्रभाव मूल्याङ्कन नभएको भन्दै विद्युत् लैजान रोकिएको बताइएको छ ।  

भरतपुरको गोन्द्राङबाट लैजानुपर्ने विद्युत्को पोल लैजान नसक्दा निर्माण सम्पन्न भएको दुई वर्ष पुगिसक्दा पनि सञ्चालन गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण वितरण शाखाका सहायक प्रबन्धक सङ्गीता कार्कीले बताउनुभयो । भरतपुरको गोन्द्राङबाट दक्षिण नौ किलोमिटर तार लैजानुपर्ने छ । यसबिचको छ किलोमिटरमा मध्यवर्ती र वन डिभिजन क्षेत्र पर्दछ । वन विभाग र निकुञ्ज विभागले तार लैजान स्वीकृति नदिएको सहायक प्रबन्धक कार्कीले बताउनुभयो । 

वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) गर्न वन विभाग र निकुञ्जमा फाइल गए पनि स्वीकृति नदिएका कारण तार लैजान नसकिएको कार्कीले बताउनुभयो । निर्माण सम्पन्न भएर पनि चार्जका लागि प्राधिकरणको कार्यालयले पहल नगर्दा स्थानीयले लोडसेडिङको सामना गर्नु परेको छ ।