• १४ मंसिर २०८१, शुक्रबार

महिला उद्यमीलाई अभिमुखीकरण

blog

रमेश विश्वकर्मा

गुल्मी, असार ६ गते । गुल्मीको एक स्थानीय तहले महिला उद्यमीहरूका लागि अभिमुखीकरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाले नगरपालिकाभित्र रहेका महिला उद्यमीहरूलाई एक दिने नगरस्तरीय अभिमुखीकरण गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कल्पना पाण्डेले जानकारी दिनुभयो । 

महिला उद्यमीहरूलाई उद्योग दर्ता, कर प्रणाली, व्यवसाय सञ्चालन गर्दा ध्यान पुर्‍याउनु पर्ने विषय, कानुनी प्रावधान, उपभोक्ता, उपभोक्ता अधिकार, वस्तुको लेबलिङ, बजार अनुगमन, उपभोक्ताप्रतिको उत्तरदायित्वको विषयमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुरेन्द्र भण्डारीले जानकारी गराउनुभयो । 

महिला उद्यमीहरूलाई वित्तीय योजना, उद्यम तथा उद्यमी भनेको के हो ? व्यवसायका किसिम, लघु उद्यम, उत्पादनमूलक उद्यम, सेवामूलक व्यवसाय, उत्पादन तथा बजार, साधन एवम् स्रोतको पहिचान, सङ्कलन र प्रयोग लगायतका विषयमा कृषि विकास बैङ्कका प्रमुख कृष्णप्रसाद पन्थले जानकारी गराउनुभयो । उद्यम सञ्चालन गर्दा पारिवारिक व्यवस्थापनका साथै परिवारको सल्लाहमा व्यवसाय छनौट गरी वित्तीय अनुशासन कायम गर्ने सन्दर्भमा प्रष्ट पार्दै उहाँले व्यवसायका लागि लिनुपर्ने ऋण, कर्जा, लगायतका विषयमा समेत जानकारी गराउनुभयो । 

बुधबार नगरपालिकाको सभा हलमा महिला उद्यमीहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ अभिमुखीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले बताउनुभयो । अभिमुखीकरणबाट महिला उद्यमीहरूको प्रवर्द्धनका लागि गरिनुपर्ने कार्यहरूका विषयमा सुझाव समेत लिइएको उहाँले बताउनुभयो । 

त्यस्तै, उप–प्रमुख अमृतादेवी कुँवरले अभिमुखीकरणबाट सिकेका ज्ञान, सीपलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागी उद्यमीहरूलाई आग्रह गर्नुभयो । नगरप्रमुख खिलध्वज पन्थीले महिला उद्यमीहरूको प्रोत्साहनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले महिला उद्यमीहरूले यहाँ सिकेका कुराहरूलाई व्यवहारमा लागु गरी आफ्नो उद्यममा कटिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । 

यस नगरपालिमा पाँच सय ६७ उद्यमी व्यवसायी सूचिकृत भएका छन् । जसमा महिला उद्यमी एक सय ३० भन्दा बढी रहेका छन् भने नयाँ स्थापना गरिएका उद्यमी व्यवसायीहरू सूचिकृत हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ । यहाँ कृषि तथा पशु फर्म, टेलरिङ्ग, पार्लर, होटल, पोल्टि फर्म, ढाका उद्योग लगायत सूचिकृत छन् ।