• १ जेठ २०८२, बिहिबार

शान्ति र सद्भावका लागि लुम्बिनीमा योग अभ्यास

blog

भैरहवा समाचारदाता

भैरहवा, असार ६ गते  । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा मङ्गलबार शान्ति र सद्भावका लागि योग अभ्यास गरिएको छ। 

योग अभ्यासको एक समारोहबिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र भारतीय राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा लुम्बिनीमा शान्ति र सद्भावका लागि योग दिवस मनाइएको हो।

लुम्बिनी विकास कोष, भारतीय राजदूतावास र पतञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय योग दिवस २०२३ लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्बोधन गर्नुभयो। 

त्यस अवसरमा उहाँले भारतीय उपमहाद्वीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासँग जोडिएको बताउँदै अहिले योग अभ्यासको विषय विश्वव्यापी रूपमा लोकप्रिय हुँदै गएको बताउनुभयो। 

उहाँले महर्षी पतञ्जलीले वैज्ञानिक रूपमा सूत्रबद्ध गरे पनि योग सूत्र निर्माण गर्न धेरै ऋषिमुनिले योगदान गरेको स्मरण गर्दै गौतम बुद्धको नाम अग्रपङ्क्तिमा आउने बताउनुभयो। 

मन्त्री किरातीले योगलाई धार्मिक, शारीरिक, मानसिक स्वास्थ्यलाभसँग मात्र होइन, मानवलाई योगले विश्व ब्रह्माण्डसँग र मानव कल्याणको साझा ज्ञानसँग जोड्ने बताउनुभयो। 

मन्त्री किरातीले नेपाल र भारतबिचको मित्रता दुई हजार तीन सय वर्षअघिदेखिको व्यापार सम्बन्धबाट सुरु भएको बताउँदै प्रधानमन्त्रीको भारत भ्रमणले भारतसँगको सम्बन्ध थप सुमधुर बनेको बताउनुभयो। 

उहाँले रामबिना नेपाल र सीताबिना भारत अपूर्ण हुने समेत बताउनुभयो। मन्त्री किरातीले भैरहवा विमानस्थलको हवाई रुटका विषयमा भारत सरकार सकारात्मक रहेको आफूले पाएको पनि बताउनुभयो। 

कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले योग भारतबाट सुरु भएको बताउँदै यसले नेपालसँगको सम्बन्धलाई पनि जोडेको बताउनुभयो। उहाँले नेपाल–भारत सम्बन्ध युगौँदेखि  कायम रहँदै आएको र प्रधानमन्त्रीको हालै भएको भ्रमणले थप सम्बन्ध सुमधुर बनेको बताउनुभयो।

पतञ्जली योग समिति कपिलवस्तुका अध्यक्ष कृष्णमुरारी ज्ञवाली र नवलपरासीका अध्यक्ष नरुपति पाण्डेयले योग अभ्यास गराउनुभएको थियो।