• २० असार २०८२, शुक्रबार

विद्युत् नहुँदा बढ्यो सास्ती

blog

बुटवल समाचारदाता

बुटवल, असार ६ गते  । रुपन्देहीमा विगत एक महिनादेखि बढेको गर्मीले जनजीवन नराम्रोसँग प्रभावित भएको छ। त्यसमाथि लो भोल्टेज र छिनैभरमा आउने र जाने (विद्युत् ट्रिपिङ) समस्याले स्थानीयले ठुलो सास्ती भोग्नु परेको छ।  एकातिर असारको चर्को र उखरमाउलो गर्मी र अर्कातिर विद्युत्को अनियमितताले पङ्खासमेत नचल्दा ठुलो समस्या परेको स्थानीय बासिन्दाले बताएका छन्। 

लो भोल्टेजका कारण अहिले पङ्खा नचल्ने मात्र होइन, फ्रिजसमेत चलाउन समस्या परेको छ। पानी तान्ने मोटर लो भोल्टेजकै कारण बिग्रिएको बुटवलका स्थानीयको गुनासो छ। पछिल्लो समय बुटवलमा लो भोल्टेजको समस्या बढ्दै गएको छ। 

बुटवल मिलनचोकका दिनेश खनालले भन्नुभयो, “गर्मीले पङ्खा त चल्दैन, उल्टो फ्रिजसमेत नचल्दा चिसो पानी पिउनसमेत वञ्चित भएका छौँ, यो समस्या कहिले समाधान हुने होला ?”

बुटवल लक्ष्मीनगरका लक्ष्मी न्यौपानेले आफूहरूको टोलमा विद्युत्को समस्या धेरै पहिलेदेखि नै रहेको बताउँदै यस विषयमा नगरको वडा कार्यालय र जनप्रतिनिधिलाई समेत ध्यानाकर्षण गराएको तर अहिलेसम्म समस्या समाधान नभएको गुनासो गर्नुभयो।  लो भोल्टेजका कारण विद्युतीय उपकरण बिग्रने समस्या बढेको छ भने बालबालिका बिरामी पर्ने समस्याका साथै साँझमा बिजुली बत्ती चहकिलो नबल्दा बालबालिकालाई पढ्नसमेत समस्या परेको छ। 

स्थानीय देवीनगरका खिमबहादुर खत्रीले विद्युत् भोल्टेज बढाउन वडा कार्यालयमार्फत विद्युत् कार्यालयलाई निवेदन दिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो। 

उता विद्युत्को समस्याका कारण जनजीवन नै प्रभावित हुन थालेपछि नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देहीले नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ।